मङ्गलबार, १५ बैशाख २०८३
सरकारले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको विषयमा त्रिभुवन विश्वविद्यालय र नेपाल क्रिकेट संघ (क्यान)बिच नयाँ सम्झौता हुने बताइएको छ । युवा तथा खेलकुदमन्त्री र सरकारका प्रवक्ता सस्मित पोखरेलले सोमबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै त्रिवि मैदानको विषयमा नयाँ सम्झौता हुने बताएका हुन् । मन्त्री पोखरेलले सोमबार बिहान त्रिविका भिसी, रजिस्ट्रार र रेक्टरसँग छलफल गरेका थिए । छलफलका क्रममा त्रिवि क्रिकेट मैदान नविकरण गर्नेबारेमा शिक्षामन्त्री पोखरेल स्पष्ट भए पनि त्रिवि उपकुलपति प्रा.डा. दीपक अर्यालले भने उक्त खेल मैदानका कारण त्रिविको पठनपाठनमा समस्या हुने गरेको बताएका थिए ।
तर, राज्यको ठुलो लगानी भएको र नेपालमा क्रिकेट क्रेज बढेकाले हाललाई नवीकरण गर्ने सहमतिसमेत भएको छ । ‘मेरो उपकुलपतिसँग बैठक थियो । सकारात्मक कुरा भएको छ । रंगशाला खाली गराउने उद्देश्य होइन । लिज एग्रिमेन्ट सकिएकाले फेरि गर्नुपर्नेछ । ब नयाँ खाले लिज एग्रिमेन्ट हुन्छ । कुनै समस्या छैन,’ शिक्षा मन्त्री तथा सरकार प्रवक्ता पोखरेलले मन्त्रिपरिषद्को निर्णय सुनाउने क्रममा भने, ‘क्रिकेट मैदानमा राज्यको ठुलो लगानी भएको छ । त्यसमाथि दुवै सरकारी निकाय हुन् । रंगशाला भत्काउने कुरामा सत्यता छैन । लिज सकिएकाले फेरि नयाँ एग्रिमेन्ट गर्नुपर्छ ।’
यसअघि त्रिविले ४ वैशाखमा सार्वजनिक सूचना निकाल्दै १८ संघ–संस्थालाई आफ्नो जग्गा र सम्पत्ति फिर्ता गराउन ३५ दिने अल्टिमेटम दिएको थियो । विश्वविद्यालयको अल्टिमेटनमा क्रिकेट मैदानमा रहेको छ । त्रिवि कार्यकारी परिषद्को २३ चैत ०८२ को निर्णयअनुसार सूचना निकालेको थियो । त्रिवि उपकुलपति प्रा.डा. दीपक अर्यालले खेल मैदानका कारण त्रिविको पठनपाठनमा समस्या हुने गरेको बैठकमा शिक्षामन्त्रीसमक्ष बताएका थिए । ‘रंगशाला हटाउने वा नहटाउने भन्दा पनि त्रिविको जग्गा त्रिविकै हुनुपर्छ, पठनपाठनमा प्रयोग हुनुपर्छ, भाडामा लगाउनुहुँदैन, होहल्ला हुनुहुँदैन भन्ने हो,’ अर्यालले भने, ‘धेरैलाई क्रिकेट हटाउँछ कि भन्ने चिन्ता र चासो पनि छ । क्रिकेटको मोह पनि निकै बढ्या छ । हाम्रा लागि दुवै महत्वपूर्ण छ । मुख्यतः हामीलाई आयोगको प्रतिवेदनले जे भनेको छ सोहीअनुसार कार्यान्वयन गराउँछौँ ।’ हाल क्यानले वार्षिक ६ लाखमा भाडामा उक्त रंगशालाको जग्गा प्रयोग गरिरहेको छ ।
नेपालमा एक मात्र अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला त्रिवि मात्रै हो । यहाँ अधिकांश घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदै आइरहेका छन् । अहिले यसै मैदानमा विश्वकप लिग २ अन्तर्गत नेपाल, युएई र ओमानबिच त्रिकोणात्मक सिरिज भइरहेको छ । क्यानले विश्वकप लिग २ का सिरिज आयोजना गरिरहँदा विश्व विद्यालयसँगको सम्झौता आगामी २९ वैशाखमा सकिँदै छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले भने त्रिवि र क्यानबिच समन्वय गर्ने काम भइरहेको बताए । ‘त्रिविमा सहरी विकास मन्त्रालयले यसअघि प्यारापिट र फ्लडलाइट जडान गरेको थियो । अहिले यो सम्झौता थप गर्ने विषयमा सहजीकरण भइरहेको छ,’ मेहताले भने । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।