बुधबार, १३ साउन २०८३

images

बुधबार, १३ साउन २०८३

बुधबार, १३ साउन २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

“जेनजी नारा होइन, नतिजा खोज्छन्” : उद्योगपति वरुण चौधरी

काठमाडौँ । नेपालको सबैभन्दा अब्बल व्यावसायिक घराना ‘चौधरी ग्रुप’ र ‘सीजी कर्प ग्लोबल’का प्रबन्ध निर्देशक उद्योगपति वरुण चौधरीले पछिल्ला राजनीतिक असन्तोषको मूल कारण जेन–जी (Generation Z) पुस्ताको निराशा र नतिजामुखी सोच रहेको बताएका छन्। साइनर्जिया फाउन्डेसन र हार्भर्ड क्लब अफ इन्डियाको संयुक्त आयोजनामा सम्पन्न बन्द कक्ष रणनीतिक राउन्डटेबल छलफलमा बोल्दै उनले पछिल्ला २५ वर्षमा नेपालमा करिब २० वटा सरकार परिवर्तन, गृहयुद्ध, राजतन्त्रको अन्त्य, संविधान निर्माण, भूकम्प तथा हिंसात्मक आन्दोलनहरूले युवा पुस्तामा गहिरो प्रभाव परेको बताए।

बंगलादेशमा हालै देखिएको आन्दोलन पूर्णरूपमा जेनजी नेतृत्वको आन्दोलन हो, जसको प्रतिध्वनि नेपालमा पनि देखिएको छ। “जेनजी कुनै विचारधारा वा नारामा बाँधिएको छैन, उनीहरू नतिजा खोज्छन्,” उनले भने।“ओपन बोर्डर जेनेरेशन” अवधारणा प्रस्तुत गर्दै उनले भने, 'सूचना, भौगोलिक, आर्थिक, सांस्कृतिक र डिजिटल सिमानाहरू अब परम्परागत रूपमा सीमित छैनन्।' चौधरीका अनुसार सामाजिक सञ्जाल नै जेन–जीको प्रमुख सूचना स्रोत बनेको छ। नेपालमा सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले राजनीतिक उथलपुथल निम्त्याएको उदाहरण उनले स्मरण गराए।

दैनिक २ देखि ३ हजार नेपाली विदेश पलायन भइरहेको उल्लेख गर्दै उनले आर्थिक तथा श्रम सिमानाहरू व्यवहारतः खुला भइसकेको बताए। चौधरीले नेपालको सबैभन्दा ठूलो चुनौती स्थायी ब्रेन ड्रेन भएको उल्लेख गर्दै दोस्रो पुस्ता विदेशमै बसाइ सरेसँगै पैतृक सम्पत्ति बिक्री, स्वदेश फर्कने सम्भावना न्यून हुनु र रेमिट्यान्स घट्ने जोखिम बढ्दै गएको बताए। हाल नेपालको अर्थतन्त्र करिब २० अर्ब अमेरिकी डलर बराबरको रेमिट्यान्समा निर्भर रहेको पनि उनले बताए। उनले भने, ''युवा पुस्ताले मेरिटमा आधारित अवसर, अर्थतन्त्र बुझ्ने नेतृत्व, डिजिटल पारदर्शिता र राजनीतिक स्थिरता चाहन्छ।'' नेपाललाई उनले भारत र चीनबीचको “स्यान्डविच” अवस्थासँग तुलना गर्दै, यसबाट रणनीतिक लाभ लिनुपर्ने धारणा राखे।

कार्यक्रममा भारतीय सेनाका डाइरेक्टर जनरल अफ मिलिटरी अपरेशन्स (DGMO) लेफ्टिनेन्ट जनरल राजीव घई, भारतका पूर्व योजना आयोग उपाध्यक्ष मोन्टेक सिंह अहलुवालिया, पूर्व परराष्ट्र सचिव श्याम सरन, पूर्व उप–राष्ट्रिय सुरक्षा सल्लाहकार पंकज सरन, पूर्व गुप्तचर प्रमुख राजीव जैन, राष्ट्रिय सुरक्षा परिषद सचिवालयका पूर्व सल्लाहकार ए. बी. माथुर, भारतीय वायुसेनाका पूर्व उपप्रमुख एयर मार्शल नागेश कपूर, फ्रान्स र मोनाकोका लागि भारतका पूर्व राजदूत जावेद अशराफ लगायतले वक्ताका रूपमा विचार राखेका थिए। कार्यक्रमको अध्यक्षता साइनर्जिया फाउन्डेसनका संस्थापक तथा अध्यक्ष टोबी साइमोनले गरेका थिए।