शनिवार, ३० फागुन २०८२
बुटवल । रुपन्देही–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार चुन्न प्रसाद पौडेलले शिक्षा र स्वास्थ्य क्षेत्रलाई केन्द्रमा राख्दै व्यापक सुधारको योजना सार्वजनिक गरेका छन्। “बदलिएको कांग्रेसले देश बदल्छ” भन्ने नारालाई व्यवहारमा उतार्ने स्पष्ट योजना सहित पौडेल शिक्षा र स्वास्थ्य पूर्वाधारको व्यापक सुधारको एजेण्डा लिएर मतदातामाझ पुगेका छन्। विद्यालयको स्तरउन्नतिदेखि इन्जिनियरिङ र मेडिकल कलेज स्थापना सम्मको योजनाले रुपन्देहीलाई शिक्षा र स्वास्थ्यको केन्द्र बनाउने लक्ष्य राखिएको छ।
उनको योजना अनुसार बुटवललाई प्राविधिक शिक्षा र स्वास्थ्य सेवाको प्रमुख हब बनाउने रहेको छ । रुपन्देहीलाई आधुनिक शिक्षा र प्राविधिक जनशक्तिको केन्द्र बनाउने लक्ष्यसहित पौडेलले विद्यालयदेखि विश्वविद्यालय र स्वास्थ्य शिक्षासम्मको समग्र सुधारको योजना सार्वजनिक गरेका छन् । लामो समयदेखि शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएको पूर्वाधार अभाव, गुणस्तर समस्या तथा दक्ष जनशक्ति पलायनलाई रोक्ने लक्ष्यका साथ उनले ठोस पहल गर्ने प्रतिबद्धता जनाएका हुन्।
सामुदायिक विद्यालयको स्तरउन्नति पहिलो प्राथमिकता
रुपन्देही–२ का अधिकांश ग्रामीण क्षेत्रमा अझै पनि सामुदायिक विद्यालयको गुणस्तर कमजोर रहेको गुनासो उठ्दै आएको छ। यसलाई सुधार गर्दै सबै सामुदायिक विद्यालयको स्तरउन्नति गर्ने योजना पौडेलको पहिलो प्राथमिकतामा परेको छ। उनका अनुसार शिक्षक व्यवस्थापन, भौतिक पूर्वाधार सुधार, प्रविधिमैत्री शिक्षण प्रणाली र विद्यार्थीमैत्री वातावरण निर्माण गर्दै निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने सामुदायिक विद्यालय बनाइनेछ।
शिक्षा ऐन ल्याउन पहल
शिक्षक आन्दोलन र शिक्षा क्षेत्रको अन्योलको मुख्य कारण लामो समयदेखि शिक्षा ऐन नआउनु रहेको भन्दै पौडेलले शिक्षकका पेशागत संस्थाहरूसँग भएका सम्झौता अनुसार नयाँ शिक्षा ऐन ल्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यसले शिक्षकको पेशागत सुरक्षा, पारदर्शी नियुक्ति प्रणाली र गुणस्तरीय शिक्षाको आधार तयार हुने उनको दाबी छ।
बुटवललाई प्राविधिक शिक्षाको केन्द्र बनाउने योजना
रोजगारीमुखी शिक्षा विस्तारका लागि बुटवलमा अटो इन्जिनियरिङ कलेज सञ्चालन गर्ने योजना अघि सारिएको छ। यसबाट देशमै आवश्यक पर्ने अटोमोबाइल, मेशिनरी तथा प्राविधिक जनशक्ति उत्पादन हुने र युवालाई विदेश जानुपर्ने बाध्यता घट्ने अपेक्षा गरिएको छ। त्यसैगरी अहिले सञ्चालनमा रहेको बुटवल टेक्निकल इन्स्टिच्युट (BTI) लाई पूर्ण इन्जिनियरिङ कलेजका रूपमा रूपान्तरण गर्न पहल गर्ने पौडेलको योजना छ। यसले लुम्बिनी प्रदेशमै उच्चस्तरको प्राविधिक शिक्षा उपलब्ध गराउने विश्वास गरिएको छ।
लुम्बिनी वाणिज्य क्याम्पसलाई विश्वविद्यालयको स्वरूप
बुटवलस्थित लुम्बिनी वाणिज्य क्याम्पसलाई मानित विश्वविद्यालयको रूपमा विकास गर्ने योजना पनि अघि सारिएको छ । यसबाट व्यवस्थापन, वित्त, व्यापार र उद्यमशीलता सम्बन्धी अध्ययनलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने लक्ष्य लिइएको छ।
स्वास्थ्य शिक्षा विस्तार : मेडिकल कलेजदेखि प्रतिष्ठानसम्म
शिक्षा र स्वास्थ्यलाई जोडेर अघि बढाउने योजना अनुसार सिद्धार्थ बाल तथा महिला अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्न पहल गरिने बताइएको छ। यसले बाल तथा महिला स्वास्थ्य सेवासँगै चिकित्सा शिक्षा विस्तारमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ। त्यसैगरी लुम्बिनी प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रूपान्तरण गर्ने लक्ष्य पनि सार्वजनिक गरिएको छ। यसले चिकित्सा अध्ययन, अनुसन्धान र स्वास्थ्य सेवा एकै ठाउँमा उपलब्ध गराउने आधार तयार गर्ने पौडेलको भनाइ छ।
सामुदायिक क्याम्पसको गुणस्तर वृद्धि
रुपन्देहीका विभिन्न स्थानमा रहेका सामुदायिक क्याम्पसहरू आर्थिक अभाव र पूर्वाधार समस्याले संघर्षरत छन्। यसलाई समाधान गर्न सबै सामुदायिक क्याम्पसहरूको गुणस्तर वृद्धि र शैक्षिक पूर्वाधार सुधारका लागि संघीय तहबाट विशेष पहल गर्ने उनले बताएका छन्।
शिक्षा र विकासमार्फत रुपन्देहीको रूपान्तरण
रुपन्देही–२ लाई शिक्षा, स्वास्थ्य र प्राविधिक जनशक्तिको केन्द्र बनाउने लक्ष्यसहित अघि बढेको यो योजना “बदलिएको कांग्रेसले देश बदल्छ” भन्ने नाराको व्यवहारिक रूप भएको स्थानीयहरूको टिप्पणी छ। पौडेलले शिक्षा क्षेत्रमा गरिएको लगानी नै दीर्घकालीन विकासको आधार हुने भन्दै रुपन्देहीको विकास शिक्षा र दक्ष जनशक्तिबाट मात्र हुने बताए। यही लक्ष्यसहित म स्पष्ट योजना लिएर मतदातामाझ आएको छु,उनले भने।”
यसरी विद्यालयदेखि विश्वविद्यालय, प्राविधिक शिक्षा र स्वास्थ्य शिक्षासम्मको समग्र सुधारको एजेण्डा लिएर अघि बढेको पौडेलको अभियानले रुपन्देही–२ को विकास बहसलाई शिक्षा केन्द्रित बनाएको देखिन्छ। पौडेलले रुपन्देहीलाई शिक्षा, प्राविधिक जनशक्ति र स्वास्थ्य सेवाको केन्द्र बनाउने लक्ष्यसहित आफू मतदातामाझ पुगेको बताएका छन्।