लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

आश्विन शुक्ल षष्ठी : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

कला सस्कृति

आश्विन शुक्ल षष्ठी : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा आराधना गर्छन् ।

न्युज बिहानी
न्युज बिहानी
Shares
आश्विन शुक्ल षष्ठी : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ, ३० असोज : दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । कुनै समय देवताहरूको कार्यसम्पादन गर्न भगवती देवी कात्यायन ऋषिका आश्रममा अत्यन्त सुन्दरी कुमारीका रूपमा अवतार लिइछन् । उनको बाल सौन्दर्यबाट मुग्ध भएर कात्यायन ऋषिले पुत्रीका रूपमा स्वीकार गरेछन् । यसैले यिनको नाम कात्यायनी भएको विभिन्न पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ ।

कात्यायनीको प्रतिमा लक्षणमा शार्दूल वाहन भएकी, दानव घातिनी, हातम खड्ग लिएकी, एउटा चुल्ठो भएकी, कानमा जपापुष्प (एक प्रकारको फूल) तथा यार्लिङ लगाएकी, गधामा बसेकी, नग्न, ठूलठूला ओठ भएकी र शरीरमा तेल घसेकी हुन्छिन् भनेको पाइन्छ । यस्ती देवीको आज विशेष पूजा आराधना गरिन्छ ।
नवरात्रको पहिलो दिन असोज २५ गते आइतबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो । 

दोस्रो दिन सोमबार पूजास्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन मङ्गलबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो । चौँथो दिन बुधबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो भने पाँचौँ दिन शुक्रबार स्कन्दमाता देवीको पूजा आराधना गरियो ।छैटौँ दिन आज कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा आराधना गर्छन् । 

नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद देशका धेरै भागमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । कतै भने कुल परम्पराअनुसार विजयादशमीका दिनमामात्र लगाउने प्रचलन पनि छ । शास्त्रीय रूपमा दुर्गा पक्षभर अर्थात् कोजाग्रत पूर्णिमासम्म दुर्गा देवीको प्रसादका रूपमा जमरा टीका लगाउन सकिने व्यवस्था रहेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व धुमधामका साथ मनाउँछन् ।दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ । 

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ । काठमाडौँ उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी, कङ्केश्वरी, कलङ्कीमाई, चामुण्डा देवी, सुन्दरीमाई, बज्रयोगिनी, इन्द्रायणी, बगलामुखीलगायत मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।त्यसैगरी, उपत्यका बाहिरका पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, पाल्चोक भगवती, कमलामाई, इच्छाकामना, मनकामना, गढीमाई, छिन्नमस्ता, पाथीभरा, दन्तकाली, गहवामाई, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही, शैलेश्वरी, बडीमालिका, उग्रतारालगायत शक्तिपीठमा पनि भक्तजनको भीड लागेको जनाइएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup