लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यक : अध्यक्ष श्रेष्ठ

अर्थतन्त्र

सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यक : अध्यक्ष श्रेष्ठ

पुरस्कारको राशि रु एक लाख एक हजार रहेको छ । यस्तै पोखरा रत्न सम्मानबाट सम्मानित उद्यमी चन्द्रकृष्ण कर्माचार्यलाई बधाईसहित सम्मान गरिएको थियो ।

न्युज बिहानी
न्युज बिहानी
Shares
सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यक : अध्यक्ष श्रेष्ठ

कास्की, ४ असोजः नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अन्जन श्रेष्ठले सरकारले निजी क्षेत्रलगायत सरोकारवालासँग पर्याप्त संवाद गर्नुपर्ने बताउनुभएको छ । लेखनाथ उद्योग वाणिज्य सङ्घको ३०औँ वार्षिक साधारणसभाको शनिबार पोखराको लेखनाथमा उद्घाटन गर्नुहुँदै अध्यक्ष श्रेष्ठले अर्थतन्त्रमा देखिएका समस्या समाधान गरी आर्थिक गतिविधि चलायमान बनाउनका लागि निजी क्षेत्र सरकारलाई सहयोग गर्न तत्पर रहेको बताउनुभयो । 

“सरकारले अर्थतन्त्रका समस्या पहिल्याउन सक्नुपर्छ । सही दिशा पहिल्याउन सकेपछि मात्र समस्या हल हुने हो र देशले आर्थिक रूपमा गति लिनसक्छ । निजी क्षेत्र सरकारलाई सहयोग गर्न सधैँ तयार छ”, अध्यक्ष श्रेष्ठले भन्नुभयो ।चालु आर्थिक वर्षको बजेट आएको तीन महिना बितिसक्दा पनि कार्यान्वयनले अपेक्षित गति लिन नसकेको उहाँले उल्लेख गर्नुभयो । संविधान संशोधनका सन्दर्भमा महासङ्घले प्रधानमन्त्री कार्यालयमा सुझाव पेस गरिसकेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । कृषियोग्य जमिन संरक्षणका लागि औद्योगिक, व्यापारिक, आवासीय र कृषि क्षेत्र छुट्याउने भूउपयोग नीति तत्काल आवश्यक रहेको उहाँले बताउनुभयो । 

गण्डकी विश्वविद्यालयका कुलपति प्रा डा इन्द्रप्रसाद तिवारीले नेपालमा लघुउद्यम तथा व्यवसायको हिस्सा ८२ देखि ८५ प्रतिशतसम्म रहेको उल्लेख गर्दै साना, मझौला र ठूला उद्योगलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनुभयो । महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले सरकारले महासङ्घजस्ता संस्थालाई संस्थागत महत्व दिनुपर्ने भन्दै निजी क्षेत्रका माग सुनुवाइका लागि महासङ्घले सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले उद्योगी–व्यवसायी सङ्कटमा रहेका बेला महासङ्घले नेतृत्वदायी भूमिका निर्वाह गरेर लगानीमैत्री वातावरण निर्माण, ऋण तथा निजी लगानीका समस्या समाधानका गर्नुपर्ने बताउनुभयो ।नेपाल उद्योग वाणिज्य महासङ्घका वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठले हालैको भोटेकोशी नदीको बाढीले अर्थतन्त्रमा थप असर गरेको उल्लेख गर्नुभयो । सङ्घका अध्यक्ष जानुका पराजुली अधिकारीले विगत एक वर्षका अवधिमा सङ्घ, प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरी सीपमूलक तथा रोजगारी सृजना गर्ने कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । 

साधारणसभाका अवसरमा सङ्घका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यद्वारा स्थापित ‘चन्द्रलक्ष्मी ज्येष्ठ नागरिक सेवा’ पुरस्कार यात्री मिडिया नेटवर्क प्रालिका प्रधानसम्पादक टीकाराम यात्रीलाई प्रदान गरियो । पुरस्कारको राशि रु एक लाख एक हजार रहेको छ । यस्तै पोखरा रत्न सम्मानबाट सम्मानित उद्यमी चन्द्रकृष्ण कर्माचार्यलाई बधाईसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा महासङ्घका केन्द्रीय सदस्य छत्रधर आत्रेय, पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारी, पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष शोभा गौतमलगायतले देशको समृद्धिका निजी क्षेत्रको विकास र विस्तारमा रहेकाले राज्यले लगानीमैत्री वातावरण बनाउनुपर्नेमा जोड दिनुभएको थियो । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup