लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

सुन्तलाले फेरिँदै सलकपुरको अर्थतन्त्र र पर्यटन

अर्थतन्त्र

सुन्तलाले फेरिँदै सलकपुरको अर्थतन्त्र र पर्यटन

न्युज बिहानी
न्युज बिहानी
Shares
सुन्तलाले फेरिँदै सलकपुरको अर्थतन्त्र र पर्यटन

झापा, ९ मङ्सिरः इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड रुपैयाँसम्म आम्दानी हुन थालेको छ । सुन्तला उत्पादन र बिक्रीसँगै बगान अवलोकन तथा ताजा सुन्तलाको स्वाद लिन आउने पर्यटकको सङ्ख्या पनि बढ्दै गएको छ । पूर्वीनाका काँकरभिट्टाबाट करिब ३० किलोमिटर उत्तरमा रहेको सलकपुरको करिब ९० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ । यतिबेला बगानमा लटरम्म फलेका सुन्तला पाकेर पहेँलपुर बनेका छन् । सुन्तलाको स्वाद लिन, बोटबाटै टिपेर खान तथा बगानमा तस्बिर खिच्न आन्तरिक र भारतीय पर्यटक यहाँ पुग्ने गरेका छन् ।

वडाध्यक्ष सत्यम राईका अनुसार सलकपुरमा दैनिक करिब एक सय पर्यटक आउने गरेका छन् । वडा कार्यालयको अनुमानअनुसार यहाँ वार्षिक औसत ४५० देखि ६०० मेट्रिक टन सुन्तला उत्पादन हुन्छ । मौसम अनुकूल र रोगकिराको प्रकोप कम भएका वर्ष उत्पादन अझ बढ्ने गरेको छ ।सुन्तला बिक्रीबाट मात्रै यहाँ वार्षिक रु तीन करोडदेखि चार करोडसम्म आम्दानी हुने गरेको छ । गाउँका एक सयभन्दा बढी घरपरिवार सुन्तला खेतीमा संलग्न छन् । रोगका कारण पुराना बोट मरेपछि नयाँ बगान विस्तार गर्ने क्रम पनि बढेको छ ।

यहाँ उत्पादित सुन्तला स्वादिलो र रसिलो भएकाले बोटबाटै बिक्री हुने गरेको छ । झापाको काँकरभिट्टा, बिर्तामोड र दमक तथा मोरङको विराटनगरका बजारमा यहाँको सुन्तला पुग्ने गरेको छ । सीमावर्ती भारतीय बजार सिलिगुडी र नक्सलबारीमा पनि सलकपुरको सुन्तलाका रूपमा यसको प्रचार गरी बिक्री गरिँदै आएको छ ।इलाम, झापा, मोरङ र सुनसरीका पर्यटकसँगै भारतको सिलिगुडी, दार्जिलिङ र कोलकाताबाट समेत पर्यटक आउन थालेका छन् । स्थानीय देबेन खड्काका अनुसार गाउँका करिब ३० घरमा सञ्चालित घरबासमा शुक्रबार र शनिबार पाहुनाको चाप बढ्ने गरेको छ ।

सलकपुरमा ३० वटा ठूला सुन्तला बगान छन् । खड्काका अनुसार बजारमा सुन्तलाको मूल्य प्रतिकिलो रु २१० देखि रु २२० सम्म रहेकामा बगानमै पुग्ने पर्यटकले प्रतिकिलो रु १३० मा ताजा सुन्तला किन्न पाउँछन् । पर्यटकसँगै व्यापारी पनि सिधै बगानमा पुगेर सुन्तला खरिद गर्ने गरेका छन् ।शुक्रबार र शनिबार निन्दा–सलकपुर (कदम पदमार्ग) हुँदै पैदलयात्रा तथा सवारीसाधनबाट पर्यटकको आवागमन बढ्ने गरेको छ । झापाका बिर्तामोड, दमक र धुलाबारी, मोरङको उर्लाबारी तथा भारतबाट समेत गरी ती दिनमा ३०० देखि ५०० पर्यटक सलकपुर पुग्ने गरेको खड्काले बताउनुभयो ।

उहाँले पनि १० रोपनी जमिनमा सुन्तला बगान लगाउनुभएको छ । यस वर्ष विगतका तुलनामा सुन्तला उत्पादन राम्रो भएको उहाँको भनाइ छ । बगानमा रमाउन आउने पर्यटकले सुन्तलाको स्वाद लिनुका साथै नजिकैको गुर्धुम डाँडाबाट सूर्योदयको दृश्यावलोकनसमेत गर्ने गरेका छन् ।विसं २००४ मा दार्जिलिङबाट बसाइँ सरेर आएका गौरीलाल लामाले सलकपुरमा सुरु गरेको सुन्तला खेतीले अहिले व्यावसायिक रूप लिएको छ । 

सुरुमा दार्जिलिङबाट ल्याइएका बिरुवा रोपिएको भए पनि अहिले पाल्पाबाट ल्याइएका उन्नत जातका बिरुवाले राम्रो उत्पादन दिइरहेका छन् ।सलकपुर, कुवापानी र जौबारी क्षेत्र सुन्तलासँगै अलैँची, अकबरे खुर्सानी, अम्लिसो र मह उत्पादनका लागि पनि परिचित छन् । यहाँ उत्पादित सुन्तला प्रत्येक वर्ष भारतको कोलकातामा आयोजना हुने सुन्तला महोत्सवमा प्रदर्शन तथा बिक्रीका लागि समेत लगिने गरिएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup