म्याग्दी, ८ मङ्सिरः तीन दशकअघिसम्म मजदुरी गरेर जीविकोपार्जन गर्दै आउनुभएका म्याग्दीको बेनी नगरपालिका–४ सिंगाका तेजबहादुर बानियाको जीवन अहिले फेरिएको छ । मजदुरी गरेर गुजारा चलाउनुपर्ने अवस्थाबाट व्यावसायिक र अगुवा किसान बन्नुभएका बानियाको तीन दशक लामो कृषि यात्राले स्थानीय स्तरमै श्रम र उद्यममार्फत आर्थिक आत्मनिर्भरता हासिल गर्न सकिने सन्देश दिएको छ । विसं २०५२ मा लुम्लेमा कृषि तालिम लिएपछि उहाँले व्यावसायिक तरकारी खेती सुरु गर्नुभएको हो ।
सुरुमा सानो क्षेत्रफलबाट थालिएको खेती विस्तार गर्दै उहाँले अहिले हराभरा कृषि फार्म सञ्चालन गर्नुभएको छ ।“खेतीपातीको काम र विकास निर्माणका योजनामा मजदुरी गरेर जीविकोपार्जन गर्न कठिन भएपछि तरकारी खेती सुरु गरेको हुँ,” उहाँले भन्नुभयो, “तरकारीखेतीले ज्याला मजदुरी गर्नुपर्ने र ऋण खोज्नुपर्ने बाध्यता हटाएको छ । आर्थिक अवस्था सुधार हुनुका साथै अरूलाई रोजगारी दिन सकेको छु ।”
बानियाँले अहिले साढे दुई रोपनी जमिनमा तरकारीखेती र बिरुवा उत्पादन गर्दै आउनुभएको छ । तीन रोपनीमा केराखेती गर्नुभएको छ । सिँचाइका लागि निर्माण गरिएको पोखरीमा माछापालन गर्नुभएको छ । उहाँले सञ्चालन गरेको हराभरा कृषि तथा पशुपन्छी फार्मबाट वार्षिक रु १२ देखि १५ लाखसम्मको कारोबार हुने गरेको छ । फार्ममा तीनवटा स्थायी प्रकृतिका प्लास्टिक घर निर्माण गर्नुभएको छ । त्यहाँ सिमी, साग, बन्दा, काउली, गोलभेँडा, ब्रोकाउली र घिरौँलालगायत मौसमी तथा बेमौसमी तरकारी उत्पादन हुन्छ । हिउँदयाममा प्याज, बन्दा र काउलीका बिरुवा उत्पादन गरेर बिक्री गर्ने गर्नुभएको छ ।
उत्पादित तरकारी बेनी बजार र सिंगाको तातोपानी क्षेत्रमा बिक्री हुन्छ । पछिल्लो समय फोनबाटै कारोबार गर्न सहज भएको छ । व्यापारीलाई तरकारी पठाउने गर्नुभएको छ । व्यापारीले बैंक खातामै रकम जम्मा गरिदिने भएपछि बजारसम्म पुग्नुपर्ने समय र खर्च बचत भएको उहाँको अनुभव छ ।“तरकारीखेती सुरु गरेपछि घरमा पैसाको अभाव भएको छैन । छोराछोरी पढाउन र घरखर्च चलाउन सहज भएको छ,” उहाँले भन्नुभयो, “विदेशको कमाइ भेलबाढीजस्तै हो । आफ्नै ठाउँमा गरेको उद्यमबाट हुने आम्दानी थोरै भए पनि दिगो र स्थायी हुन्छ ।”
बानियाँ माहुरीपालन विस्तार गर्ने तयारीमा हुनुहुन्छ । कृषि कर्मबाटै आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न पाउँदा आफूलाई सन्तुष्टि मिलेको उहाँ बताउनुहुन्छ । कृषि विकास कार्यालयलगायत विभिन्न निकायबाट उहाँ पुरस्कृतसमेत हुनुभएको छ ।सिंगा क्षेत्र ताजा तरकारी तथा फलफूलखेतीको पकेट क्षेत्र भएकाले किसानलाई कृषि उपकरण र सामग्री अनुदानमा उपलब्ध गराउँदै आएको बेनी नगरपालिका–४ का वडाध्यक्ष अणबहादुर खड्काले बताउनुभयो ।“विदेश नगई आफ्नै ठाउँमा सम्भावना खोजेर सफल हुनुभएका तेजबहादुर व्यावसायिक किसानका लागि उदाहरण हुनुहुन्छ,” उहाँले भन्नुभयो, “उहाँको सङ्घर्ष, पेसाप्रतिको लगाव, निरन्तरता र इमान्दारिताबाट अरूले पनि प्रेरणा लिन सक्छन् ।”
प्रतिक्रिया दिनुहोस् (Comments)
तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।
लगइन गर्नुहोस्