बाँकेको नारायणपुर गाउँपालिकामा कमिसनको खेल भएको तथ्य आएको छ । प्रमुख प्रशासकीय अधिकृत नमराज ओलीमाथि टेन्डर प्रक्रियामार्फत फर्निचर आपूर्ति गरेका व्यवसायीलाई लामो समयदेखि भुक्तानी नदिई दुःख दिएको आरोप छ । गाउँपालिकाका लागि आवश्यक फर्निचर तथा कार्यालय व्यवस्थापनका सामग्री आपूर्ति गर्ने जिम्मेवारी पाएको आरडी फर्निसिङ एण्ड सप्लायर्सले सम्झौताअनुसार सामान बुझाइसक्दा पनि भुक्तानीका लागि महिनौँसम्म कार्यालय धाउनुपरेको व्यवसायीको गुनासो छ ।
गाउँपालिकाले २०८२ साल वैशाख १४ गते कार्यालयका लागि आवश्यक फर्निचर सामग्री खरिद तथा भवन व्यवस्थापन गर्न टेन्डर आह्वान गरेको थियो । उक्त टेन्डर आरडी फर्निसिङ एण्ड सप्लायर्सले प्राप्त गरेपछि प्रमुख प्रशासकीय अधिकृत ओलीले करिब १०–१५ दिनपछि सम्झौता गर्न बोलाएका थिए । त्यसपछि १८ लाख १३ हजार ६५० रुपैयाँको सम्झौता भएको थियो ।
सम्झौताअनुसार सप्लायर्सले निर्धारित समयभित्रै फर्निचरलगायतका सामग्री तयार गरी गाउँपालिकामा पु¥याएर बुझाएको थियो । तर सामान बुझाएको लामो समयसम्म पनि गाउँपालिकाले भुक्तानी नगरेको व्यवसायीको भनाइ छ ।
सामान बुझाएपछि भुक्तानीका लागि कार्यालय धाउँदा प्रमुख प्रशासकीय अधिकृत ओलीले इन्जिनियर प्रविणकुमार श्रेष्ठलाई सामानको गुणस्तर जाँच गर्न निर्देशन दिए । तर सिभिल इन्जिनियर श्रेष्ठले आफूलाई फर्निचरको प्राविधिक गुणस्तरबारे पर्याप्त जानकारी नभएको भन्दै अर्को सप्लायर्स कम्पनीलाई बोलाएर परीक्षण गराएका थिए ।
त्यसक्रममा अन्य सामग्री ठीक रहेको तर सोफाको गुणस्तरमा प्रश्न उठाइएको थियो। सोफामा प्रयोग भएको फोमको डेन्सिटी १ सय हुनुपर्ने माग गाउँपालिकाले राखेपछि सप्लायर्सले पुनः आवश्यक फोम मगाएर सोफा परिवर्तन गरी गाउँपालिकामा बुझाएका थिए । तर सोफा परिवर्तन गरेर बुझाएपछि पनि गुणस्तर परीक्षणकै विषय उठाएर भुक्तानी रोकिएको छ । कहिले सोफाको क्वालिटी परीक्षण गर्नुपर्ने त कहिले भारतबाट गुणस्तर प्रमाणपत्र ल्याउनुपर्ने भन्दै कार्यालयले पटकपटक नयाँ सर्त राखेको उनीहरूको भनाइ छ ।
सामान आपूर्ति गरेपछि भुक्तानीका लागि सप्लायर्सका प्रतिनिधि काठमाडौंलगायत विभिन्न स्थानबाट गाउँपालिकाको कार्यालयसम्म १४ पटक पुगेको बताउँछन् । तर प्रमुख प्रशासकीय अधिकृत ओलीले कहिले होटल त कहिले रेस्टुरेन्टमा भेट्न बोलाएर भुक्तानी गरिदिने आश्वासन मात्र दिने गरेको व्यवसायीको आरोप छ ।
व्यवसायीका अनुसार सम्झौताअनुसारको एउटै आपूर्तिको बिल पेस गर्नुपर्नेमा कार्यालयले आधा रकमको मात्र बिल पेस गर्न लगाएको थियो । सोहीअनुसार बिल पेस गरेपछि त्यसको भुक्तानीसमेत करिब छ महिनापछि मात्र गरिएको उनीहरूको भनाइ छ । बाँकी रकमको भुक्तानी भने अझै बाँकी रहेको छ ।
सोफाको गुणस्तर जाँचका नाममा भारतबाट प्रमाणपत्र ल्याउनुपर्ने मागसमेत गरिएको व्यवसायीको दाबी छ । नेपालकै स्थानीय बजारबाट खरिद गरिएका सामग्रीको गुणस्तरबारे पटकपटक प्रश्न उठाउँदै भारतीय प्रमाणपत्र माग्ने र प्रमाणपत्र पेस गरेपछि पनि अर्को बहाना बनाउने गरिएको उनीहरूको गुनासो छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत र इन्जिनियरबाट पटकपटक नयाँ सर्त र परीक्षणको प्रक्रिया अघि सारिएपछि आजित भएका सप्लायर्सले आफूले आपूर्ति गरेका सामान फिर्ता लैजान दिन आग्रह गरेका थिए । तर सामान फिर्ता लैजान पनि नदिइएको र बाँकी भुक्तानीसमेत नदिइएको व्यवसायीको आरोप छ ।
सामान पनि नदिने पैसा पनि रोक्ने
पीडित सप्लायर्सका अनुसार सामान फिर्ता माग्दा प्रमुख प्रशासकीय अधिकृत ओलीले सामान फिर्ता लैजान सकिने आशय व्यक्त गरे पनि व्यवहारमा सामान हस्तान्तरण गरेका छैनन् । भुक्तानी पनि रोकिएको छ । व्यवसायी अहिले बाँकेमै होटल भाडामा बसेर आफ्नो सामान फिर्ता पाउने वा बाँकी रकम भुक्तानी हुने आशामा बसेका छन् ।
गाउँपालिकाका स्थानीयवासीले समेत प्रमुख प्रशासकीय अधिकृत ओली नियमित रूपमा कार्यालयमा उपलब्ध नहुने र सेवाग्राही तथा व्यवसायीलाई भेटघाटका लागि होटल तथा रेस्टुरेन्टमा बोलाउने गरेको बताएका छन् ।यस विषयमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नमराज ओलीसँग प्रतिक्रिया माग्दा उनले सप्लायर्सलाई सामान फिर्ता लैजान भनिसकेको तर भुक्तानी दिन नसकिने बताए । तर व्यवसायीले भने आफूलाई सामान फिर्ता लैजान नदिइएको दाबी गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस् (Comments)
तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।
लगइन गर्नुहोस्