शुक्रबार, ४ बैशाख २०८३
नुवाकोट । नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा उत्रिएका प्रलोपा (प्रगतिशील लोकतान्त्रिक पार्टी) का उम्मेदवार राजन गौतमले आफूले घरदैलो अभियानका क्रममा मतदाताबाट उत्साहजनक साथ र भरोसा पाएको बताएका छन्। पछिल्लो केही सातायता क्षेत्रका विभिन्न वडामा गरिएको भेटघाटमा स्थानीयवासीको सक्रिय सहभागिता देखिएको भन्दै गौतमले परिवर्तन र उत्तरदायित्वमुखी नेतृत्वको अपेक्षा बढेको दाबी गरेका छन् ।
घरदैलो अभियानमा सकारात्मक संकेत
गौतमले ककनी, दुप्चेश्वर,लिखु,पन्चकन्या,सुर्यागढि र तादीमा गरिएको भेटघाटमा युवादेखि ज्येष्ठ नागरिकसम्मको सहभागिता उल्लेख्य रहेको बताए। उनका अनुसार मतदाताहरूले रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, सडक स्तरोन्नति र पारदर्शी विकासको स्पष्ट खाका मागिरहेका छन्।“नुवाकोटको सम्भावना ठूलो छ, तर योजनाबद्ध कार्यान्वयनको अभावले अपेक्षित परिणाम आउन सकेको छैन,” उनले भने, “जनताले अब भाषण होइन, परिणाम देख्ने नेतृत्व खोजेका छन्।”
प्रमुख एजेन्डा : विकास र जवाफदेहिता
राजन गौतमले आफ्नो चुनावी प्रतिबद्धतामा निम्न विषयलाई प्राथमिकतामा कृषि उत्पादनमा मूल्य शृंखला विकास र बजारीकरण सुनिश्चित गर्ने,युवालाई लक्षित सीपमूलक तालिम र स्थानीय रोजगारी कार्यक्रम,स्वास्थ्य र शिक्षामा गुणस्तरीय पहुँच विस्तार,स्थानीय सडक तथा खानेपानी पूर्वाधारमा द्रुत सुधार,सार्वजनिक खर्चमा पारदर्शिता र नियमित जनप्रतिवेदन प्रणाली लगायत राखेका छन। उनले नुवाकोट–१ लाई “कृषि, पर्यटन र साना उद्योगको सम्भावनायुक्त क्षेत्र” का रूपमा विकास गर्ने दीर्घकालीन योजना अघि सारेका छन्।
मतदाताको मनोभाव
स्थानीय स्तरमा गरिएको अन्तरक्रियामा धेरै मतदाताले परम्परागत राजनीतिक शैलीप्रति असन्तुष्टि जनाउँदै नयाँ सोच र जिम्मेवार नेतृत्वको आवश्यकता औंल्याएका छन्। विशेषगरी युवा मतदाताले रोजगारी र अवसरलाई प्रमुख मुद्दाका रूपमा अघि सारेका छन्। गौतमले भने, “यो चुनाव केवल दलको होइन, नुवाकोटको भविष्यको चुनाव हो। जनताको भरोसालाई परिणाममा बदल्ने प्रतिबद्धता मेरो छ।”चुनावी माहोल क्रमशः तातिँदै जाँदा नुवाकोट क्षेत्र नम्बर १ मा प्रतिस्पर्धा रोचक बन्दै गएको छ।