मङ्गलबार, १५ ब‌ैशाख २०८३

images

मङ्गलबार, १५ ब‌ैशाख २०८३

मङ्गलबार, १५ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

सञ्चारमन्त्री डा तिमिल्सिनासँग जापानी राजदूतको शिष्टाचार भेट

काठमाडौँ, १४ वैशाख: नेपालका लागि जापानका राजदूत मायदा तोरुले सञ्चार तथा सूचना प्रविधिमन्त्री डा बिक्रम तिमिल्सिनासँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । आज सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा भएको भेटवार्तामा उहाँहरूबीच नेपाल र जापानको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको सन्दर्भमा आपसी सम्बन्ध, साझा हित तथा बहुआयामिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको हो । त्यस अवसरमा मन्त्री डा तिमिल्सिनाले नेपाल र जापानबीचको ऐतिहासिक, मैत्रीपूर्ण र विश्वासमा आधारित सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो । नेपालले जापानलाई विकास साझेदार मात्र नभई विश्वसनीय मित्र राष्ट्रका रूपमा हेर्दै आएको उल्लेख गर्दै उहाँले बदलिँदो विश्व सन्दर्भमा प्रविधि र नवप्रवर्तनमार्फत सम्बन्धलाई नयाँ उचाइमा लैजान सकिने बताउनुभयो ।

मन्त्री डा तिमिल्सिनाले नेपाल सरकारले सूचना प्रविधि, कृत्रिम बौद्धिकता, साइबर सुरक्षा, दूरसञ्चार सेवा विस्तार तथा डिजिटल सुशासनलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै सार्वजनिक सेवा प्रवाहलाई छिटो, पारदर्शी र जनमैत्री बनाउन डिजिटल रूपान्तरणलाई राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाइएको बताउनुभयो । यी क्षेत्रमा जापानको प्राविधिक सहयोग, लगानी, क्षमता विकास तथा अनुभव आदानप्रदान अत्यन्त उपयोगी हुने उहाँको भनाइ थियो । मन्त्री डा तिमिल्सिनाले नेपालमा राजनीतिक स्थिरता कायम भएको र बलियो सरकार बनेकाले क्रमशः लगानीमैत्री वातावरण निर्माण हुँदै गएको स्पष्ट पार्नुभयो । नीतिगत सुधार, कानुनी संरचना सुदृढीकरण तथा प्रशासनिक प्रक्रियाको सरलीकरणमार्फत वैदेशिक लगानीकर्तालाई आकर्षित गर्ने सरकारको योजना रहेकोसमेत उहाँले बताउनुभयो । 

नेपालले प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन चाहेको उल्लेख गर्दै उहाँले विशेषगरी सूचना प्रविधि, डिजिटल सेवा, ‘क्लाउड’ पूर्वाधार, ‘ई–गभर्नेन्स’ प्रणाली तथा नवप्रवर्तन उद्योगमा लगानी आवश्यक रहेको बताउनुभएको थियो । राजदूत तोरुले नेपालमा सूचना प्रविधि क्षेत्रको तीव्र विकासका लागि दुई देशबीच थप सहकार्य गर्न सकिने धारणा राख्नुभएको थियो । उहाँले डिजिटल पूर्वाधार विस्तार, प्राविधिक जनशक्ति विकास, नवप्रवर्तन तथा लगानी प्रवर्द्धनका क्षेत्रमा जापान र नेपालबीच सहकार्यको ठूलो सम्भावना रहेको उल्लेख गर्नुभयो । विशेषगरी नेपालका युवाशक्ति र जापानको प्रविधि तथा व्यवस्थापकीय अनुभवलाई जोडेर दुवै देशले पारस्परिक लाभ लिन सक्ने राजदूत तोरुको भनाइ थियो । उहाँले जापानमा करिब तीन लाख नेपाली बसोबास गरिरहेको उल्लेख गर्दै तीमध्ये ठूलो सङ्ख्या सूचना प्रविधि, इन्जिनियरिङ, सेवा तथा प्राविधिक क्षेत्रमा आबद्ध रहेको जानकारी दिनुभयो । 

जापानमा रहेका नेपाली डायस्पोराको सीप, अनुभव र पुँजीलाई नेपालतर्फ आकर्षित गर्न सके डिजिटल रूपान्तरणको अभियानलाई तीव्रता दिन सकिने धारणा राख्नुभयो । साथै विदेशमा बसेका नेपाली नागरिकलाई केवल श्रमशक्ति मात्र नभई ज्ञान, लगानी र नवप्रवर्तनका साझेदारका रूपमा उपयोग गर्नुपर्नेमा उहाँको जोड थियो । राजदूत तोरुले नीतिगत स्थायित्व, प्रशासनिक सहजीकरण र पूर्वाधार विकासलाई थप गति दिन सके जापानी निजी क्षेत्रको चासो नेपालमा अझ बढ्न सक्ने बताउनुभयो । नेपालमा प्रविधि–आधारित उद्योग, सफ्टवेयर विकास, स्टार्टअप इकोसिस्टम तथा डिजिटल सेवा क्षेत्रमा जापानी लगानी आकर्षित गर्न सकिने सम्भावना रहेको भनाइ थियो ।