लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका

इनसाइट

विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका

विद्यालयमा रहेका विद्यार्थीको तहगत सङ्ख्या, विद्यालय छाड्ने, कक्षा दोहो¥याउने र माथिल्लो कक्षामा उक्लिने दरले पनि विद्यालयमा प्रवेश गरेपछि विद्यार्थीलाई निरन्तरता दिन चुनौती रहेको देखाएको छ ।

न्युज बिहानी
न्युज बिहानी
Shares
विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका

टिकाराम सुनार
सुदूरपश्चिम, २ असोजः सुदूरपश्चिममा विद्यालय प्रवेश गर्ने बालबालिकाको सङ्ख्या धेरै भए पनि सबै विद्यार्थीको शैक्षिक यात्रा माथिल्लो कक्षासम्म पुग्न सकेको छैन । यहाँ अझै पाँचदेखि १२ वर्ष उमेर समूहका करिब २७ हजार बालबालिका अझै विद्यालय बाहिर छन् । यस्तै, विद्यालयमा रहेका विद्यार्थीको तहगत सङ्ख्या, विद्यालय छाड्ने, कक्षा दोहो¥याउने र माथिल्लो कक्षामा उक्लिने दरले पनि विद्यालयमा प्रवेश गरेपछि विद्यार्थीलाई निरन्तरता दिन चुनौती रहेको देखाएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालय र प्रदेश शिक्षा निर्देशनालयको तथ्याङ्कले कक्षा १–१२ मा अध्ययनरत विद्यार्थीको सङ्ख्या २०८० सालमा सात लाख ४४ हजार ६५१ रहेकामा २०८१ सालमा सात लाख २५ हजार ६२७ र २०८२ सालमा सात लाख चार हजार ६९२ मा झरेको देखाउँछन् । यसले दुई वर्षमा विद्यार्थी सङ्ख्या ३९ हजार ९५९ ले घटेको र माथिल्लो कक्षामा विद्यार्थीको निरन्तरताको चुनौती रहेको प्रष्ट पारेको छ । विसं २०८२ मा कक्षा १–५ मा तीन लाख ३४ हजार ९७७ विद्यार्थी रहेकामा कक्षा ६–८ मा एक लाख ९५ हजार ७५२, कक्षा ९–१० मा एक लाख ९९२ र कक्षा ११–१२ मा ६४ हजार ७०० विद्यार्थी छन् । यसरी आधारभूत तहबाट माध्यमिक तहको माथिल्लो कक्षामा पुग्दा विद्यार्थीको सङ्ख्या उल्लेख्य रूपमा घट्दै गएको विवरणमा उल्लेख छ ।

कक्षा ९–१० मा पनि २०८० सालको एक लाख १४ हजार २७७ विद्यार्थीबाट २०८२ सालमा एक लाख ९९२ मा झरेको छ । कक्षा ११–१२ को विद्यार्थी सङ्ख्या भने सोही अवधिमा ७७ हजार ७७१ बाट घटेर ६४ हजार ७०० पुगेको छ । दुई वर्षमा कक्षा ११–१२ को विद्यार्थी सङ्ख्या १३ हजार ७१ अर्थात् करिब १७ प्रतिशतले घटेको हो । सामाजिक विकास मन्त्रालयका शिक्षा निर्देशक उपसचिव जयदेव महरा यी तथ्याङ्कले बालबालिकालाई विद्यालय भित्र्याउनेसँगै भर्ना भएका विद्यार्थीलाई टिकाउने, सिकाउने र माथिल्लो तहसम्म पुर्‍याउने चुनौती देखाएको बताउनुहुन्छ । 

कक्षा बढ्दै जाँदा निरन्तरताको खाडल
प्रदेश शिक्षा निर्देशनालयका अनुसार सुदूरपश्चिममा कक्षा ५ सम्मको निरन्तरता दर ८५ दशमलव पाँच प्रतिशत र कक्षा ८ सम्मको ७९ दशमलव एक प्रतिशत छ । कक्षा ८ सम्मको यो दर राष्ट्रिय औसत ७९ दशमलव आठ प्रतिशतभन्दा केही कम हो । माथिल्लो तहमा पुग्दा खुद भर्नादरको अन्तर अझ फराकिलो बन्दै जाने गरेको विवरणमा उल्लेख छ । सन् २०२५÷२६ को शैक्षिक सूचकअनुसार सुदूरपश्चिममा कक्षा ९–१० को खुद भर्नादर ६९ दशमलव तीन प्रतिशत र कक्षा ११–१२ को २९ दशमलव तीन प्रतिशत छ । राष्ट्रिय स्तरमा यी दर क्रमशः ७३ दशमलव छ र ३५ दशमलव एक प्रतिशत छन् । 

जिल्लागत रूपमा कक्षा ११–१२ को खुद भर्नादरमा पनि ठूलो अन्तर छ । डोटीमा १३ दशमलव सात प्रतिशत, डडेल्धुरामा १६ प्रतिशत र दार्चुलामा २१ दशमलव सात प्रतिशत हुँदा कैलालीमा ३४ दशमलव तीन र कञ्चनपुरमा ३२ दशमलव नौ प्रतिशत छ । शिक्षा निर्देशनालयका महानिर्देशक दुर्गादत्त विष्टले आधारभूत तहमा विद्यालयमा रहेका विद्यार्थीलाई माध्यमिक तहको माथिल्लो कक्षासम्म पुर्‍याउनु प्रदेशका लागि ठूलो चुनौतीका रुपमा देखिएकाले अब त्यहीअनुसार सम्बोधनको प्रयास आवश्यक रहेको बताउनुभयो । 

समस्या कक्षा १ बाटै सुरु हुन्छ
विद्यार्थीको निरन्तरतामा देखिएको समस्या माथिल्लो तहमा मात्र नभई कक्षा एकबाटै सुरु हुने गरेको प्रदेशको पछिल्लो शैक्षिक तथ्याङ्कले देखाएको छ । त्यसआधारमा यहाँ कक्षा १ मै विद्यालय छाड्ने दर ११ दशमलव सात प्रतिशत छ । कक्षा १–५ मा आठ दशमलव पाँच, कक्षा ६–८ मा चार दशमलव नौ र कक्षा ९–१० मा चार दशमलव आठ प्रतिशत विद्यार्थीले विद्यालय छाड्ने गरेका छन् । कक्षा १ को विद्यालय छाड्ने दर राष्ट्रिय औसत नौ दशमलव एक प्रतिशतभन्दा दुई दशमलव छ प्रतिशत बिन्दुले बढी छ । कक्षा ६–८ मा भने प्रदेशको दर राष्ट्रिय औसत पाँच दशमलव चार प्रतिशतभन्दा कम छ । यसले प्रारम्भिक कक्षामै विद्यार्थीलाई विद्यालयमा टिकाइराख्ने विषयमा विशेष ध्यान आवश्यक रहेको देखाउँछ ।

विद्यालय छाड्नुका साथै एउटै कक्षा दोहोर्‍याउने दर पनि प्रारम्भिक तहमा उच्च छ । कक्षा १ मा १९ दशमलव तीन प्रतिशत विद्यार्थीले कक्षा दोहोर्‍याएका छन् । कक्षा १–५ मा ११ दशमलव तीन, कक्षा ६–८ मा १२ दशमलव पाँच र कक्षा ९–१० मा चार दशमलव दुई प्रतिशत छ । कक्षा १ को कक्षा दोहोर्‍याउने दर राष्ट्रिय औसत १३ प्रतिशतभन्दा छ दशमलव तीन प्रतिशत बिन्दुले बढी हो । कक्षा १–५ र ६–८ को दर पनि राष्ट्रिय औसतभन्दा बढी छ । प्रदेशमा कक्षा उक्लिने दरमा पनि समस्या देखिएको छ । कक्षा १ बाट दुईमा उक्लिने दर सुदूरपश्चिममा ६९ दशमलव एक प्रतिशत छ भने राष्ट्रिय दर ७८ प्रतिशत छ । कक्षा १–५ मा प्रदेशको दर ८० दशमलव दुई र राष्ट्रिय ८३ प्रतिशत तथा कक्षा ६–८ मा प्रदेशको ८२ दशमलव छ र राष्ट्रिय ८७ दशमलव चार प्रतिशत छ ।

विद्यालयबाहिरै छन् २७ हजार
प्रदेशमा विद्यालयमै नपुगेका बालबालिकाको सङ्ख्या पनि ठूलो छ । विसं २०८२ को तथ्याङ्कअनुसार पाँचदेखि १२ वर्ष उमेर समूहका २६ हजार ९८५ बालबालिका विद्यालय बाहिर छन् । जिल्लागत रूपमा सबैभन्दा बढी कैलालीमा नौ हजार नौ बालबालिका विद्यालय बाहिर छन् । यस्तै कञ्चनपुरमा चार हजार ९१०, अछाममा दुई हजार ४८२, डोटीमा दुई हजार २०९, बैतडीमा दुई हजार २०० र बझाङमा दुई हजार १३८ जना छन् । बाजुरामा एक हजार ५४५, दार्चुलामा एक हजार २७२ र डडेल्धुरामा एक हजार २२० जना विद्यालय बाहिर छन् ।

कैलाली र कञ्चनपुरमा मात्रै विद्यालय बाहिर रहेका बालबालिकाको सङ्ख्या १३ हजार ९१९ छ, जुन प्रदेशको कुल सङ्ख्याको आधाभन्दा बढी हो । यसले विद्यालय बाहिर रहेका बालबालिकाको समस्या दुर्गम पहाडी जिल्लामा मात्र सीमित नरहेको देखाउँछ । जिल्ला शिक्षा विकास तथा समन्वय इकाई कैलालीका प्रमुख जीवन न्यौपाने कैलाली–कञ्चनपुरमा जनसङ्ख्याको चाप बढी भएकाले विद्यालय बाहिर रहेका बालबालिकाको सङ्ख्या पनि बढी देखिएको बताउनुहुन्छ । तर आर्थिक अवस्था, रोजगारी, शिक्षाप्रतिको लगाव र चेतनालगायत बहुआयामिक कारणले शिक्षा क्षेत्रमा समस्या रहेको उहाँ बताउनुहुन्छ । “यहाँ जनसङ्ख्याको चाप पनि बढी छ । त्यससँग बहुआयामिक समस्या पनि जोडिएका छन् । आर्थिक अवस्था, रोजगारी, शिक्षाप्रतिको लगाव, चेतनालगायत कारणले शिक्षा क्षेत्रमा विविध समस्या छन् । ठूलो सङ्ख्यामा बालबालिका विद्यालय बाहिर रहनु गम्भीर समस्या हो । यसका कारण र समाधानका लागि सबै गम्भीर बन्नुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो ।

जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ कञ्चनपुरका प्रमुख दीपकराज कलौनीले स्थानीय तहसँग मिलेर विद्यालय शिक्षाको पहुँच सुनिश्चित गर्न प्रयास भइरहेको बताउनुभयो । उहाँले संविधानले तीनै तहका अधिकारबारे प्रष्ट व्यवस्था गरेकाले सोही अधिकार समन्वय इकाई र जिल्लामा रहेका स्थानीय तहले कार्ययोजना बनाएर काम गरे पनि अभिभावकलाई थप जिम्मेवार बनाउने गरी क्रियाशील हुनेपर्ने आवश्यकता बोध गरिएको बताउनुभयो । 

तराईका १० पालिकामा बढी समस्या
धेरै बालबालिका विद्यालयबाहिर रहेका स्थानीय तह पनि कैलाली र कञ्चनपुरमै छन् । प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीमा पाँचदेखि १२ वर्ष उमेर समूहका एक हजार ८२५ बालबालिका अझै विद्यालयको पहुँचमा आउन सकेका छैनन् । त्यसपछि गोदावरी नगरपालिकामा एक हजार ४२२, लम्कीचुहा नगरपालिकामा एक हजार २२९, भीमदत्त नगरपालिकामा एक हजार २२७, कृष्णपुरमा ९१३, टीकापुरमा ८८३, घोडाघोडीमा ८४०, गौरीगङ्गामा ६९१, पुनर्वासमा ६०८ र बेदकोटमा ५२३ जना बालबालिका विद्यालयबाहिर रहेका छन् ।

सामाजिक विकास मन्त्रालयका निर्देशक महरा जनसङ्ख्या बढी भएकाले यी स्थानीय तहमा सङ्ख्या बढी देखिनसक्ने भए पनि सुगम मानिएका कैलाली–कञ्चनपुरमै विद्यालय बाहिर धेरै बालबालिका रहेको देखिनु थप अध्ययनको विषय भएको बताउनुहुन्छ । “आधारभूत तहको शिक्षासम्बन्धी अधिकार स्थानीय तहको प्रत्यक्ष सरोकार भएकाले स्थानीय सरकार यसमा गम्भीर बन्नुपर्ने आवश्यकता छ । त्यसमा प्रदेश तथा सङ्घीय सरकारले पनि थप गम्भीरताका साथ सहयोग गर्नुपर्ने देखिन्छ”, उहाँले भन्नुभयो ।

गोदावरी नगरपालिकाका शिक्षा शाखा प्रमुख वरिष्ठ शिक्षा निर्देशक हरिश पन्त पालिकामा रहेका शिक्षासम्बन्धी समस्या समाधानका लागि रणनीति निर्माणको काम भइरहेको बताउनुहुन्छ । वडा तहबाट वास्तविक समस्या पहिचान गर्ने र त्यसका आधारमा थप क्रियाकलाप अघि बढाउने काम भइरहेको उहाँले बताउनुभयो ।

अबको बाटोः पहुँच वृद्धि र निरन्तर सिकाइ
प्रदेश शिक्षा निर्देशनालयका महानिर्देशक विष्ट करिब २७ हजार बालबालिका विद्यालयको पहुँचमा नरहनु तीनै तहका सरकार तथा शिक्षा क्षेत्रका सरोकारवालाका लागि चिन्ताको विषय भएको बताउनुहुन्छ । विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउनुका साथै विद्यालयमा रहेका विद्यार्थीलाई माथिल्लो तहसम्म टिकाउने काम पनि उत्तिकै महत्वपूर्ण भएकाले सबैले मिलेर काम गर्नुपर्नेमा उहाँको जोड छ । 

सामाजिक विकास मन्त्रालयका निर्देशक महराले शिक्षा क्षेत्रमा रहेका समस्या समाधानका लागि प्रदेश सरकारले विभिन्न कोणबाट पहल गरिरहेको बताउनुभएको छ । उहाँले अभिभावकविहीन, अपाङ्गता भएका, समस्यामा परेका तथा सीमान्तकृत समुदायका बालबालिकालाई लक्षित गरी छात्रवृत्ति, आवासीय विद्यालय र विशेष विद्यालयजस्ता कार्यक्रम सञ्चालन गर्न थालिएको बताउनुभयो । “हाम्रो ध्येय हाल देखिएका सबै समस्याका कारण, परिणाम र समाधानका लागि सरोकार भएका सबैले मिलेर काम गर्नुपर्ने आवश्यकता छ । प्रदेश सरकार एक्लैले सबै समस्याको समाधान गर्नसक्दैन, संविधानप्रदत्त शिक्षाको हक कार्यान्वयनका लागि स्रोतसाधनले भ्याएसम्म हामीले काम गरिरहेका छौँ”, निर्देशक महराले भन्नुभयो । 

यहाँ शिक्षामा बहुआयामिक समस्या छन् । एउटा समूह विद्यालयको पहुँचमै पुगेको छैन । विद्यालय पुगेको अर्को समूह प्रारम्भिक कक्षाबाट हराइरहेको छ । अर्को समूह कक्षा दोहो¥याइरहेको छ । आधारभूत तह पार गरेको ठूलो समूह माध्यमिक तहको माथिल्लो कक्षासम्म पुग्न सकेको छैन । यी सबै पक्षलाई हरेर तीनै तहका सरकार र विकास साझेदारहरुले पनि आफ्नो रणनीति बनाउनुपर्ने देखिएको छ ।

त्यसका लागि संविधान र प्रचलित कानुनले सुनिश्चित गरेको शिक्षाको हक कार्यान्वयनका लागि तीनै तहका सरकारबीच जिम्मेवारी र समन्वयको निरन्तर समीक्षा आवश्यक छ । विद्यालय बाहिर रहेका बालबालिकाको पहिचानदेखि विद्यालयमा टिकाइ, सिकाइको गुणस्तर र माध्यमिक तहसम्मको निरन्तरतासम्म स्थानीय, प्रदेश र सङ्घीय सरकारका कार्यक्रमबीच समन्वय आवश्यक छ । नागरिकको शिक्षा पाउने हक बृहत् मानव अधिकारको विषयसमेत भएकाले यसको प्रभावकारी कार्यान्वयनमा राष्ट्रिय मानव अधिकार आयोग, संसद्का विषयगत समिति नियमन र अनुगमनकारी भूमिका पनि महत्वपूर्ण हुने जानकारहरू बताउँछन् । यी निकायले आफ्ना संयन्त्रमार्फत राज्यका निकायलाई थप जिम्मेवार बनाउने र अभिभावकको कर्तव्यपालनाका लागि जागरुक बनाउन लाग्नुपर्ने जरुरी छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup