लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती

समाचार

राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती

न्युज बिहानी
न्युज बिहानी
Shares
राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती

बाँके, १४ असोजः बाँकेको राप्ती नदीमा गरिएको पक्की तटबन्धले तटीय क्षेत्रको बस्ती सुरक्षित हुँदै गएको छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले नदी नियन्त्रणका लागि थालेको पक्की तटबन्ध निर्माणसँगै वर्षौँदेखि तटीय बस्तीमा छाएको डुबान र कटानकोे त्रास र अनिश्चितता विस्तारै आशा र भरोसामा परिणत हुन थालेको छ ।

राप्ती नदीको तीव्र कटान र डुबानको प्रत्यक्ष जोखिममा रहेका राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिका क्षेत्रमा तीन किलोमिटरभन्दा बढी पक्की तटबन्ध निर्माण सम्पन्न भएसँगै सयौँ बिघा खेतीयोग्य जमिन जोगिनुका साथै हजारौँ स्थानीयको बसोबास सुरक्षित बनेको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय लमही, दाङका आयोजना प्रमुख निश्चल छत्कुलीले बताउनुभयो । 

उहाँका अनुसार गत आर्थिक वर्षमा मात्रै बाँकेका विभिन्न जोखिमयुक्त स्थानमा तीन हजार १५० मिटर पक्की र ४०० मिटर अस्थायी तटबन्ध निर्माण गरिएको छ । राप्ती नदीको तीव्र बहावले हरेक वर्ष उर्वर भूमिलाई मरुभूमिमा परिणत गर्ने र बस्ती नै विस्थापित गर्ने शृङ्खला रोक्न उच्च प्राथमिकताका साथ आयोजनाले संरचना निर्माण अघि बढाएको छ ।

गत आवमा आयोजनाले बाँकेको राप्ती सोनारीको वडा नं २ कचनापुरमा एक हजार २०० मिटर र वडा नं ५ बिनौनामा एक हजार ३०० मिटर पक्की तटबन्ध निर्माण भएको छ । त्यसैगरी राप्ती सोनारी वडा नंं ७ को खल्ला झगडियामा ५०० मिटर र वडा नंं ६ ढलैयामा १५० मिटर पक्की तटबन्ध निर्माण भएको छ । तटबन्ध निर्माण भएपछि यो वर्ष राप्तीसोनारी वडा नं २ को कचनापुर, महादेवा र मदुई वडा नं ६ को फत्तेपुर, वडा नं ७ को खल्लाझगडिया र नरैनापुरको वडा नं ५ र ६ अन्तर्गतका गाउँ बाढीको प्रकोपबाट जोगिएका छन् ।

आयोजनाअन्तर्गत गत आवमै राप्ती सोनारीको जरैयामा बेम्बो माइलिङ र चचरी प्रविधिबाट करिब ४०० मिटर अस्थायी नदी नियन्त्रणको कार्यसमेत भएको आयोजना प्रमुख छत्कुलीले बताउनुभयो । “यो वर्ष पनि हामीले काम सुरु गरिसकेका छौँ, तटबन्धको लागि ढुङ्गा जम्मा गर्ने काम भएको छ”, आयोजना प्रमुख छत्कुलीले भन्नुभयो, “गत वर्ष निर्माण सम्पन्न भएको पक्की तटबन्धले यो वर्ष गाउँबस्ती सुरक्षित भएका छन् ।”

तटबन्ध निर्माण हुनुभन्दा अघिसम्म राप्तीसोनारीको खल्ला झगडिया, देउपुर्वा तथा नरैनापुर गाउँपालिकाका गङ्गापुर, सोनवर्षा, कुदर–वेटवा र कुडुवालगायतका बस्ती राप्ती नदीको उच्च जोखिममा थिए । थोरै वर्षा हुनेबित्तिकै नदी बस्तीतर्फ पस्ने डरले स्थानीयवासी रातभर नसुती जाग्राम बस्न बाध्य हुन्थे । तर, यस वर्ष निर्माण सम्पन्न भएका पक्की तटबन्धले नदीको बहावलाई सुरक्षित किनारतर्फ मोडिदिएपछि अवस्था बदलिएको छ । भर्खरैमात्र परेको भारी वर्षा र राप्तीमा आएको बाढीका बाबजुद कचनापुर, महादेवा, मदुई, फत्तेपुर, खल्ला झगडिया र नरैनापुर वडा नं ५ र ६ का गाउँ सुरक्षित भएको राप्तीसोनारी वडा नं ७ का वडाध्यक्ष रामलखन थारूले बताउनुभयो ।

“खल्ला झगडियामा निर्माण भएको ५०० मिटरको स्थायी तटबन्धले केही दिनअघिको ठूलो वर्षा र बाढीमा पनि किनारका धेरै गाउँलाई जोगाएको छ”, वडाध्यक्ष थारूले भन्नुभयो, “पहिलेपहिले पानी पर्नेबित्तिकै भागाभाग हुन्थ्यो, अब भने नदी किनारका बासिन्दामा रातभर जाग्राम बस्नुपर्ने बाध्यता हट्दै जाने ठूलो आशा पलाएको छ ।”

विगतका वर्षहरूमा सिर्जित संरचनाले सकारात्मक नतिजा दिएपछि आयोजनाले चालु आवमा पनि तटबन्ध निर्माणलाई निरन्तरता दिएको छ । आयोजना प्रमुख छत्कुलीका अनुसार हाल नयाँ चरणका तटबन्ध निर्माणका लागि निर्माणस्थलमा ढुङ्गा सङ्कलन र अन्य प्राविधिक तयारी तीव्रताका साथ भइरहेको छ । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup