लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

अमेरिका–इरान सम्झौतामा अझै अवरोध

राजनीति

अमेरिका–इरान सम्झौतामा अझै अवरोध

न्युज बिहानी
न्युज बिहानी
Shares
अमेरिका–इरान सम्झौतामा अझै अवरोध

इरान र अमेरिकाबीच आठौँ महिनामा प्रवेश गरेको द्वन्द्व अन्त्य गर्दै हर्मुज जलघाँटी पुनःखोल्ने सम्झौता गराउन मध्यस्थकर्ताहरूले प्रयास तीव्र पारेका छन् । प्रस्तावित योजनाअनुसार पहिले जलघाँटी खोल्ने र अमेरिकी नाकाबन्दी हटाउने तथा त्यसपछि प्रतिबन्ध र आणविक विषयमा सहमति खोज्ने तयारी भए पनि दुई पक्षबीच प्रमुख मतभेद कायमै छन् । तीन क्षेत्रीय र दुई अमेरिकी अधिकारीका अनुसार मध्यस्थकर्ताहरूले दुवै पक्षसँग अप्रत्यक्ष वार्ता गरिरहेका छन् ।

छलफल भइरहेको मस्यौदाअनुसार इरानले ओमानसँग गर्ने छुट्टै समझदारीअन्तर्गत जलघाँटी पुनःखोलिनेछ र व्यापारिक जहाज आवागमनलाई अस्थायी रूपमा व्यवस्थापन गरिनेछ । यसअघि जलघाँटीमा सुरक्षित जहाज सञ्चालन गराउने प्रयास असफल भएका थिए ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले एक साताभित्र जलघाँटी खोल्ने प्रस्ताव सुरुमा अस्वीकार गर्नुभएको थियो ।

इरानले अमेरिकी बन्दरगाह नाकाबन्दी हटाउनुपर्ने, रोक्का सम्पत्ति फुकुवा गर्नुपर्ने र तेल बिक्रीमा लगाइएको प्रतिबन्धमा छुट दिनुपर्ने सर्त राखेको बताइएको छ । इरानी विदेशमन्त्री अब्बास अराघची संयुक्त राष्ट्रसङ्घको महासभापछि पनि न्युयोर्कमै रहनुभएको छ । उहाँले कतारी मध्यस्थकर्तासँग पछिल्लो प्रस्तावबारे छलफल गर्ने बताइएको छ । उहाँले महासचिव एन्टोनियो गुटेरेससँग पनि भेट गर्नुभएको छ । गुटेरेसको कार्यालयले कूटनीतिक प्रयासको स्वागत गर्दै दुवै पक्षलाई वार्तामा बस्न आग्रह गरेको जनाएको छ ।

अमेरिकी अधिकारीका अनुसार ट्रम्प प्रशासनले आणविक विषयमा ठोस प्रगति नभएसम्म सम्झौता गर्न चाहेको छैन । अमेरिकाले प्रतिबन्धमा राहत तथा केही रोक्का सम्पत्ति फुकुवा गर्न सक्ने भए पनि त्यसका लागि इरानबाट आणविक विषयमा रियायत चाहेको छ । इरानले पनि यस विषयमा लचिलो हुने सङ्केत दिएको बताइएको छ । अमेरिकाले आणविक निरीक्षकलाई इरान प्रवेश दिनेलगायतका रियायत खोजिरहेको क्षेत्रीय अधिकारीले बताएका छन् ।

अमेरिकी अधिकारीहरूले इरानले ट्रम्पका सर्त स्वीकार गर्नेमा शङ्का व्यक्त गरेका छन् । हर्मुजमा व्यावसायिक जहाजमाथि गोली प्रहार गरेर अन्तरिम समझदारी उल्लङ्घन गरेको घटनापछि इरानका प्रतिबद्धताप्रति अमेरिकाले सावधानी अपनाउने उनीहरूको भनाइ छ । इरानमाथि प्रतिबन्धको प्रभाव बढ्दै जाँदा आफ्नो वार्तास्थिति बलियो हुँदै गएको अमेरिकी अधिकारीहरूको बुझाइ छ ।

इरानको पछिल्लो प्रस्तावले जुनमा भएको समझदारीका केही विषय समेटे पनि कार्यान्वयनको गति फरक रहेको बताइएको छ । अराघचीले अमेरिकाले योजना स्वीकार गरेपछि सात दिनको समयसीमा सुरु हुने बताउनुभएको थियो । दुवै पक्ष अहिले आर्थिक दबाबमा छन् । हर्मुजमा जहाजमाथि आक्रमणका कारण तेलको मूल्य बढिरहेको छ भने इरान अमेरिकी नौसैनिक नाकाबन्दी र तेल बिक्रीमा असर पार्ने प्रतिबन्धबाट दबाबमा परेको छ । यसबीच क्षेत्रीय देशहरूले क्षेप्यास्त्र र ड्रोन आक्रमणको सामना गरिरहेका छन् ।

इरानको पछिल्लो प्रस्तावमा लेबनानसहित सबै मोर्चामा लडाइँ अन्त्य गर्ने विषय पनि समेटिएको छ । यमनमा इरान समर्थित हुथी विद्रोहीहरू बाब अल–मन्देब जलघाँटीको दक्षिणी प्रवेशद्वारमा सक्रिय रहेकाले विश्वव्यापी ऊर्जा बजारमा थप दबाब परेको बताइएको छ । इरानले हुथीहरूको आफ्नै माग रहेको र उनीहरूको साउदी अरेबियासँगको द्वन्द्व अमेरिका–इरान युद्धभन्दा अलग रहेको बताउँदै आएको छ । साथै, हुथी र साउदी पक्षबीच समझदारी गराउन सहयोग गर्न आफूहरू तयार रहेको इरानी अधिकारीहरूले बताएका छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup