लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

प्रतिस्पर्धात्मक लोकतन्त्र, मानव अधिकार र कानुनी राज्य राष्ट्रिय जीवनको आधार हुन् : प्रधानमन्त्री

राजनीति

प्रतिस्पर्धात्मक लोकतन्त्र, मानव अधिकार र कानुनी राज्य राष्ट्रिय जीवनको आधार हुन् : प्रधानमन्त्री

संविधान दिवसका अवसरमा आज सैनिक मञ्चमा आयोजित विशेष समारोहमा उहाँले संविधानको अक्षर र भावनाप्रति वर्तमान सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो ।

न्युज बिहानी
न्युज बिहानी
Shares
प्रतिस्पर्धात्मक लोकतन्त्र, मानव अधिकार र कानुनी राज्य राष्ट्रिय जीवनको आधार हुन् : प्रधानमन्त्री

काठमाडौँ, ३ असोजः प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, मावनअधिकार र कानुनी राज्य सर्त नभई हाम्रा राष्ट्रिय जीवनका आधार भएको बताउनुभएको छ । संविधान दिवसका अवसरमा आज सैनिक मञ्चमा आयोजित विशेष समारोहमा उहाँले संविधानको अक्षर र भावनाप्रति वर्तमान सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो । 

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ को मूल समारोहमा प्रधानमन्त्री वालेन्द्र शाहले गर्नुभएको सम्बोधनको पूर्णपाठ यस प्रकार छः
सम्माननीय राष्ट्रपतिज्यू,
सम्माननीय उपराष्ट्रपतिज्यू,
सम्माननीय प्रधानन्यायाधीशज्यू,
सम्माननीय सभामुखज्यू,
राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू,
माननीय मन्त्रीहरू,
माननीयहरू,
स्थानीय तहका प्रमुखहरू,
उपस्थित विशिष्ट व्यक्तित्व,
कूटनीतिक नियोगका प्रमुखहरू,

स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू !

१. नेपालको राजनीतिक व्यवस्थाको परिवर्तन र सुशासनको माग गरी गरिएका आन्दोलनमा आफ्नो ज्यान आहुती गर्ने सम्पूर्ण ज्ञात–अज्ञात सहिद तथा ऐतिहासिक जेनजी आन्दोलनमा सहादत प्राप्त गर्नुभएका जेनजी सुशासन योद्धाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु । साथै, हालै आएको रसुवा–भोटेकोशी बाढीमा परी मृत्यु भएका सबै स्वदेशी तथा विदेशी नागरिकप्रति समेत श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवदेना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

२. यो संविधानले नेपाली जनतासँग एउटा वाचा गरेको छ– विविधताबीचको एकता, सबै प्रकारका विभेद र असमानताको अन्त्य र विकास, समृद्धि एवम् सामाजिक न्यायका आधारमा समतामूलक समाजको निर्माण । प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, मानव अधिकार र कानूनी राज्य – यी हाम्रा लागि सर्तहरू होइनन्, यी हाम्रो राष्ट्रिय जीवनको आधार हुन् । यो संविधानको अक्षर र भावना, दुवैप्रति यो सरकार पूर्ण रूपमा प्रतिबद्ध छ ।

३. तर एउटा कुरा हामीले कहिल्यै बिर्सनु हुँदैन । संविधान जति राम्रो भएपनि, त्यसलाई चलाउने हात इमानदार र अनवरत क्रियाशील भएनन् भने त्यो कागजको खोस्टो बन्छ ।

४. म प्रस्ट भन्छुः यो सुरुवात हो, अन्त्य होइन । भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो छ । तर त्यो जरो उखेल्ने हातहरू अब झन् बलिया छन्, झन् धेरै छन् । विकासका लागि सुशासन अनिवार्य पूर्वसर्त हो भन्ने कुरामा सरकार सचेत छ । वर्तमान सरकारले सुशासन कायम गर्न प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण, भ्रष्टाचारविरूद्ध शून्य सहनशीलता, प्रशासन यन्त्रमा राजनीतिक तटस्थता र सरकारी एवं सार्वजनिक पदमा योग्यतामा आधारित नियुक्ति प्रक्रिया अवलम्बन गरेको छ । सुशासन नारा होइन, काम हो । र हामी काम गरिरहेका छौँ । सङ्घ, प्रदेश र स्थानीय तहबीच सहकारिता, सहअस्तित्व र समन्वयका आधारमा राष्ट्र विकासको साझा उद्देश्य प्राप्त गर्न सङ्घीय सरकार प्रतिबद्ध छ ।

५. र हामी पुरानै बाटो मात्र हिँड्ने छैनौँ । कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि र साइबर सुरक्षालाई सँगै लिएर, नवप्रवर्तन र स्टार्टअपलाई अगाडि राखेर, हामी ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गर्दै छौँ । डिजिटल सुशासन ब्लुप्रिन्टअनुसारको राष्ट्रिय डिजिटल पूर्वाधार त्यसैको जग हो । युवाले सडकमा मागेको सुशासन, हामी प्रविधिबाट पनि सुनिश्चित गर्छौँ ।

६. हालैको रसुवा–भोटेकोशी बाढीले पु¥याएको क्षति हाम्रा लागि अकल्पनीय र अपुरणीय रह्यो । आजको यस विशेष घडीमा विपद् उद्धार कार्यमा सहयोग गर्ने तथा राहत कार्यमा योगदान पु¥याउने सबै मित्रराष्ट्र, अन्तर्राष्ट्रिय समुदाय एवम् संघसंस्था, निजी क्षेत्र, राष्ट्रसेवक कर्मचारी, आमनागरिक तथा देशवासीप्रति विशेष धन्यवाद र आभार प्रकट गर्दछु । तर धन्यवाद मात्र पर्याप्त छैन । नेपाल विश्वका उच्च विपद् जोखिम भएका मुलुकहरूको सूचीमा छ । यो तथ्यलाई हामी विपद् आइसकेपछि होइन, आउनुअघि नै सामना गर्छौँ । जोखिम न्यूनीकरण, पूर्वतयारी र प्रतिकार्यमा विशेष जोड दिइनेछ । विपद्को पूर्वसूचना प्रणाली सर्वोच्च प्राथमिकताका साथ कार्यान्वयनमा ल्याइनेछ ।

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,

७. संविधान जारी भएको दिन हरेक वर्ष आउँछ । तर संविधान पूरा हुने दिन हामीले आफैँ ल्याउनुपर्छ – हरेक इमानदार निर्णयबाट, हरेक पारदर्शी नियुक्तिबाट, नागरिकको घरदैलोमा पुग्ने हरेक सेवाबाट ।

८. जनताले सुशासन मागेका छन्, विकास मागेका छन्, समृद्धि र सामाजिक न्याय मागेका छन् । यो सरकारको हरेक कदम त्यही आकाङ्क्षातर्फ केन्द्रित छ र रहनेछ । यो संविधानप्रतिको निष्ठा र यसको पालनामा हामी पूर्णप्रतिबद्ध छौँ – म यो वाचा आज फेरि दोहो¥याउँछु ।

९. सहिदहरूले रगतले लेखेको संविधान, हामी कामले पूरा गर्छौँ ।

१०. सम्पूर्ण नेपाली जनतामा संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ को हार्दिक शुभकामना । धन्यवाद ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup