लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

राजनीति

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

सङ्घीय निर्वाचन क्षेत्रीय अधिवेशनबाट सङ्घीय निर्वाचन क्षेत्रीय कार्यसमिति, सङ्घीय महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य चयन हुनेछन् ।

न्युज बिहानी
न्युज बिहानी
Shares
देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ, १० असोजः नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आज अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रमा क्षेत्रीयस्तरका अधिवेशनहरू हुनेछन् । अत्यधिक वर्षाका कारण केही निर्वाचन क्षेत्रमा अधिवेशन सारिए पनि अधिकांश निर्वाचन क्षेत्रमा पूर्वनिर्धारित तालिकाअनुसार आजै क्षेत्रीय अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । 

समितिका अनुसार विगत दुई दिन अत्यधिक वर्षा भएको र आज तथा भोलि पनि भारी वर्षा हुने पूर्वानुमानका आधारमा असोज १३ गतेभित्र अनुकूलताअनुसार अधिवेशन सम्पन्न गर्न सकिने गरी विकल्प दिइएको छ । निर्वाचन समितिले विकल्प दिएपछि विशेषगरी पहाडी जिल्लाका अत्यधिक वर्षा भएका र बाटो अवरुद्ध बनेका केही निर्वाचन क्षेत्रमा आइतबार र सोमबार अधिवेशन गर्ने गरी कार्यतालिका संशोधन गरिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभयो । 

आजदेखि पुनः मौसममा सुधार देखिएकाले अधिकांश स्थानमा आजै र बाँकीमा सोमबार तथा मङ्गबारसम्ममा अधिवेशन सम्पन्न हुने गरी तालिका बनाइएको छ । उहाँका अनुसार क्षेत्रीय अधिवेशनका लागि अहिलेसम्म कुनै समस्या नदेखिएकाले सहज रूपमा अधिवेशन सम्पन्न हुने वातावरण बनेको छ । सङ्घीय निर्वाचन क्षेत्रीय अधिवेशनबाट सङ्घीय निर्वाचन क्षेत्रीय कार्यसमिति, सङ्घीय महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य चयन हुनेछन् । 

पालिका सभापति र प्रदेशसभा निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति भने सङ्घीय निर्वाचन क्षेत्रीय कार्यसमिति र प्रदेशसभा निर्वाचन क्षेत्रीय कार्यसमितिका पदेन सदस्य र स्वतः महाधिवेशन प्रतिनिधि हुनेछन् । पदेन सदस्यलाई मतदान गर्ने अधिकार भए पनि उम्मेदवार बन्ने अधिकार भने नहुने कांग्रेसको विधानमा उल्लेख रहेको समितिका सदस्य सचिव कटुवालले बताउनुभयो । उहाँका अनुसार प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिमा सभापति र सचिव एक-एक जना निर्वाचित हुनेछन् भने सहसचिवमा एक महिलासहित दुई जना र कोषाध्यक्षमा सभापतिले मनोनयन गरेका एक जना रहने व्यवस्था छ । 

यस समितिमा उपसभापतिको व्यवस्था गरिएको छैन । यस्तै, कार्यसमिति सदस्यमा १८ जना निर्वाचित हुने निर्वाचन निर्देशिकामा उल्लेख छ । ती १८ जनामध्ये दुवै प्रदेशसभा क्षेत्रबाट एक महिला र दुई खुलासहित तीन-तीन जनाका दरले क्षेत्र ‘क’ र ‘ख’ बाट कुल छ जना निर्वाचित हुनेछन् । त्यसैगरी खुलातर्फबाट एक महिलासहित चार, युवामध्येबाट एक महिलासहित दुई, जनसङ्ख्याका आधारमा समानुपातिकतर्फबाट छ जना निर्वाचित हुनेछन् भने अन्य छ जनालाई क्षेत्रीय कार्यसमिति सदस्यमा मनोनयन गर्न सकिने व्यवस्था रहेको कटुवालले उल्लेख गर्नुभयो । 

क्षेत्रीय अधिवेशनबाटै चयन हुने महाधिवेशन प्रतिनिधिमा भने महिला चार, खुला १०, एक महिलासहित तीन युवा, जनसङ्ख्याका आधारमा समानुपातिकतर्फ १० जना निर्वाचित हुनेछन् । साथै श्रमिक, पेसागत विज्ञ, अपाङ्गता भएका व्यक्ति, मुस्लिमसहित अल्पसङ्ख्यक, दलित, तथा प्रजातन्त्र सेनानी, सहिद परिवार र द्वन्द्वपीडितमध्येबाट एक-एक जना चयन हुने व्यवस्था गरिएको छ । यसरी हरेक सङ्घीय निर्वाचन क्षेत्रबाट ३३ जना सङ्घीय महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन् ।

सङ्घीय निर्वाचन क्षेत्र अधिवेशनले पार्टीको महासमिति बैठकमा सहभागी हुने महासमिति सदस्यहरू पनि चयन गर्नेछ । महासमिति सदस्यका रूपमा हरेक निर्वाचन क्षेत्रबाट महिला दुई, खुला पाँच, ३५ वर्षमुनिका युवा एक र जनसङ्ख्याका आधारमा बाँडफाँट हुने समानुपातिकतर्फ चार गरी कूल १२ जना छनोट हुनेछन् । त्यसैगरी आजै हुने प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशनले ‘क’ र ‘ख’ दुवैतर्फका लागि प्रदेशसभा क्षेत्रीय कार्यसमिति र प्रदेश अधिवेशनका लागि प्रदेश प्रतिनिधि चयन गर्नेछ । 

प्रदेशसभा क्षेत्रीय कार्यसमितिमा सभापति, उपसभापति र सचिव एक-एक जना निर्वाचित हुनेछन् भने सहसचिवमा एक महिलासहित दुई जना चयन हुने निर्वाचन समितिका सदस्य सचिव कटुवालले जानकारी दिनुभयो । उहाँका अनुसार कोषाध्यक्ष भने प्रदेशसभा क्षेत्रीय कार्यसमितिका सदस्यहरूमध्येबाट सभापतिको प्रस्तावमा एक जनालाई मनोनयन गर्ने व्यवस्था छ ।

प्रदेशसभा क्षेत्रीय कार्यसमिति सदस्यका रूपमा दुई महिला, एक दलित, एक युवा, तीन खुला र जनसङ्ख्याका आधारमा समानुपातिकतर्फबाट छ जना निर्वाचित हुनेछन् । यसबाहेक थप सात जनालाई कार्यसमितिमा मनोनयन गर्न पाइनेछ । सोही अधिवेशनले प्रदेश प्रतिनिधिका रूपमा दुई महिला, आठ खुला, एक महिलासहित दुई युवा, जनसङ्ख्याका आधारमा हुने समानुपातिकतर्फ छ जना चयन गर्नेछ । 

त्यसैगरी, पेसागत विज्ञ, श्रमिक, अपाङ्गता भएका व्यक्ति, अल्पसङ्ख्यक, दलित, तथा प्रजातन्त्र सेनानी, सहिद परिवार र द्वन्द्वपीडितमध्येबाट एक-एक जनालाई प्रदेश प्रतिनिधि चयन गर्न सकिने व्यवस्था गरिएको छ । कांग्रेसको अधिवेशन शृङ्खला यही असोज ३ गते वडा अधिवेशनबाट सुरु भएको हो । वडा र पालिका अधिवेशन सम्पन्न भइसकेको र अब क्षेत्रीय अधिवेशन सकिएलगत्तै केन्द्रीय महाधिवेशन हुन लागेको छ । केन्द्रीय महाधिवेशन यही असोज १६ देखि १९ गतेसम्म काठमाडौँको खुलामञ्चमा सम्पन्न गर्ने गरी तीव्र तयारी भइरहेको कांग्रेसले जनाएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup