लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

सञ्चारमन्त्री डा तिमिल्सिनासँग एआइबिडीका सिइओको शिष्टाचार भेटवार्ता, नेपालमा आयोजना हुने सम्मेलनबारे छलफल

राजनीति

सञ्चारमन्त्री डा तिमिल्सिनासँग एआइबिडीका सिइओको शिष्टाचार भेटवार्ता, नेपालमा आयोजना हुने सम्मेलनबारे छलफल

मुलुकका प्रसारण क्षेत्रका नीति निर्माता, सञ्चार विज्ञ, प्रसारक संस्था तथा सञ्चारकर्मीहरूको सहभागिता रहने आयोजक अकोरावले जनाएको छ ।

न्युज बिहानी
न्युज बिहानी
Shares
सञ्चारमन्त्री डा तिमिल्सिनासँग एआइबिडीका सिइओको शिष्टाचार भेटवार्ता, नेपालमा आयोजना हुने सम्मेलनबारे छलफल

काठमाडौँ, १३ साउन  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग एसिया–प्यासिफिक इन्सिच्युट फर ब्रोडकास्टिङ डेभलपमेन्ट (एआइबिडी)का प्रमुख कार्यकारी अधिकृत (सिइओ) फिलोमेना ज्ञानप्रगासमले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटमा सञ्चार क्षेत्रको विकास तथा सुदृढीकरण, सामुदायिक रेडियोको भूमिका, नेपालमा सञ्चारसम्बन्धी कानुनी सुधार तथा नेपालमा आयोजना हुन लागेको एआईबिडीको २४औँ सम्मेलनका विषयमा छलफल भएको छ ।

भेटका क्रममा सञ्चारमन्त्री डा. तिमिल्सिनाले सञ्चार क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान तथा यस्ता सम्मेलनले महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालमा आयोजना हुने एआईबिडीको सम्मेलनले सञ्चार क्षेत्रका समसामयिक चुनौती र अवसरबारे बहस गर्ने अवसर प्रदान गर्नुका साथै सरकारले अघि बढाइरहेको सञ्चार कानुन सुधार प्रक्रियालाई समेत उपयोगी पृष्ठपोषण गर्ने बताउनुभयो ।

“एक दशकअघिको सञ्चार क्षेत्र अहिले निकै परिवर्तन भइसकेको छ, आगामी दिनमा अझ नयाँ आयाम थपिँदै जानेछन् । त्यसैले सरकारले सञ्चार क्षेत्रका लागि नयाँ कानुन निर्माण गर्ने र पुराना कानुन संशोधन गर्ने काम अघि बढाइरहेको सन्दर्भमा नेपालमा हुने सम्मेलनबाट प्राप्त सुझाव नीतिनिर्माणमा उपयोगी हुने विश्वास लिएका छौँ,” मन्त्री तिमिल्सिनाले भन्नुभयो ।

उहाँले नेपालमा सामुदायिक रेडियोले सूचना प्रवाह, जनचेतना अभिवृद्धि तथा लोकतन्त्र सुदृढीकरणमा महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्नुभयो । रेडियो र टेलिभिजनजस्ता विद्युतीय सञ्चार माध्यमले लोकतन्त्र प्रवद्र्धन, नागरिक सहभागिता वृद्धि तथा उत्तरदायी शासन प्रणाली निर्माणमा प्रभावकारी भूमिका खेल्दै आएको उहाँको भनाइ थियो ।

सञ्चारमन्त्री तिमिल्सिनाले सञ्चार क्षेत्रले अहिले आर्थिक दिगोपन, प्रविधिगत रूपान्तरण, खस्कँदो विश्वसनीयतालगायतका चुनौती सामना गरिरहेको उल्लेख गर्दै ती चुनौती समाधानका लागि सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो । नागरिक पत्रकारिता (सिटिजन जर्नलिज्म) को विस्तार र डिजिटल माध्यमको तीव्र विकाससँगै मुख्यधारका सञ्चारमाध्यमको विश्वसनीयता, व्यावसायिकता र दिगोपनबारे थप गम्भीरतापूर्वक सोच्नुपर्ने आवश्यकता रहेको उहाँले औँल्याउनुभयो ।

नेपालमा आयोजना हुने एआईबिडीको २४औँ सम्मेलन सफल बनाउन सरकार आयोजक संस्थासँग आवश्यक समन्वय, सहकार्य र सहयोग गर्न तयार रहेको पनि सञ्चारमन्त्री तिमिल्सिनाले बताउनुभयो । यस अवसरमा एआईबिडीकी प्रमुख कार्यकारी अधिकृत फिलोमेना ज्ञानप्रगासमले दक्षिण एसियामा रेडियो अझै पनि प्रभावकारी सञ्चार माध्यमका रूपमा रहेको बताउनुभयो । विशेषगरी नेपालको सामुदायिक रेडियो अभियानले ठूलो जनसमुदायसम्म सूचना पु¥याउन उल्लेखनीय भूमिका निर्वाह गरेको उहाँको भनाइ थियो ।

उहाँले मिडिया क्षेत्र तीव्र रूपमा परिवर्तन भइरहेको उल्लेख गर्दै रेडियो र टेलिभिजनले कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल सूचना प्रणाली, जलवायु परिवर्तन, मानव अधिकार तथा समसामयिक सामाजिक मुद्दाहरूलाई प्रभावकारी रूपमा उठाइरहेको बताउनुभयो । विपद्को समयमा पूर्वसूचना तथा विश्वसनीय जानकारी प्रवाह गर्ने प्रभावकारी माध्यमका रूपमा विद्युतीय सञ्चार माध्यमको भूमिका अझै पनि महत्वपूर्ण रहेको उहाँले उल्लेख गर्नुभयो ।

एआईबिडीले अन्तरसरकारी संस्थाका रूपमा सदस्य राष्ट्रबीच प्रसारण क्षेत्रको अनुभव, नीति तथा प्रविधि आदानप्रदानमा क्रियाशील रहेको जानकारी दिँदै उहाँले नेपालमा हुने सम्मेलनले विद्युतीय सञ्चार माध्यमको अन्तर्राष्ट्रिय अभ्यास र नेपालको अनुभवबीच ज्ञान आदानप्रदान गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । 

भेटका क्रममा सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब)का अध्यक्ष अर्जुन गिरीलगायतका पदाधिकारीले नेपालमा सामुदायिक रेडियोले सामाजिक मुद्दा उठाउने, सीमान्तकृत समुदायलाई मूलधारमा ल्याउने तथा स्थानीय तहमा सूचना प्रवाह गर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो । उहाँहरूले डिजिटल तथा नयाँ सञ्चार माध्यमको प्रयोग तीव्र रूपमा बढिरहेका बेला सामुदायिक रेडियोले कानुनी, नीतिगत तथा प्रशासनिक जटिलता भोगिरहेको उल्लेख गर्दै तीनै तहका सरकारसँग काम गर्नुपर्ने वर्तमान संरचनामा आवश्यक कानुनी सहजीकरण गर्न आग्रह गर्नुभयो । विशेषगरी विपद्को समयमा सामुदायिक रेडियोलाई राज्यबाट संरक्षण र सहजीकरणको व्यवस्था गर्नुपर्ने अकोरावको भनाई थियो ।

अकोराबका पदाधिकारीहरूले दक्षिण एसियामा सामुदायिक रेडियो अभियानको नेतृत्वदायी भूमिका नेपालले निर्वाह गर्दै आएको उल्लेख गर्दै सन् २०१२ मा पनि नेपालमा एआईबिडीको यस्तै प्रकृतिको कार्यक्रम सफलतापूर्वक आयोजना भएको स्मरण गराएका थिए । उक्त भेटमा आगामी आगामी अगष्ट २३ देखि २५ सम्म काठमाडौँमा आयोजना हुने एआईबिडीको २४औँ सम्मेलनमा एसिया–प्रशान्त क्षेत्रका विभिन्न मुलुकका प्रसारण क्षेत्रका नीति निर्माता, सञ्चार विज्ञ, प्रसारक संस्था तथा सञ्चारकर्मीहरूको सहभागिता रहने आयोजक अकोरावले जनाएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup