जिरी, दोलखा — स्विट्जरल्यान्डको उपमा पाएको नेपालको सुन्दर पर्यटकीय नगरी दोलखाको जिरीमा पहिलोपटक स्काई डाइभिङ सञ्चालन हुने भएको छ। पर्यटन तथा साहसिक खेल प्रवर्द्धन गर्ने उद्देश्यका साथ फ्लाई स्काई एड्भेन्चर (Fly Sky Adventure) ले आगामी अक्टोबर २४ देखि नोभेम्बर १ सम्म जिरीमा स्काई डाइभिङ आयोजना गर्न लागेको हो।
दोलखाको पर्यटकीय सम्भावनालाई थप उचाइमा पुर्याउन र आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न यो कार्यक्रम आयोजना गर्न लागिएको आयोजक संस्थाले जनाएको छ। सुन्दर हरियाली, डाँडाकाँडा र उच्च हिमाली शृङ्खलाहरूको मनोरम दृश्य अवलोकन गर्दै टोलीले आकाशबाट जिरीको उपत्यकामा फाल हान्ने रोमाञ्चक अवसर प्राप्त गर्नेछन्।
साहसिक खेलप्रेमीहरूका लागि यो एक ऐतिहासिक र स्मरणीय अवसर हुने बताइएको छ। व्यावसायिक तथा तालिमप्राप्त डाइभरहरूको प्रत्यक्ष निगरानी र पूर्ण सुरक्षा मापदण्ड अपनाएर स्काई डाइभिङ गराइने फ्लाई स्काई एड्भेन्चरले जनाएको छ।
जिरीमा पहिलोपटक आयोजना हुन लागेको यस कार्यक्रमले स्थानीय पर्यटन प्रवर्द्धनका साथै जिरीलाई एड्भेन्चर हबका रूपमा स्थापित गर्न ठूलो सहयोग पुर्याउने विश्वास लिइएको छ। कार्यक्रमका लागि बुकिङ तथा थप जानकारी फ्लाई स्काई एड्भेन्चरको आधिकारिक माध्यमबाट प्राप्त गर्न सकिनेछ।
प्रतिक्रिया दिनुहोस् (Comments)
तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।
लगइन गर्नुहोस्