लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

प्रतिनिधिसभा : बाढीप्रभावित महिला र बालबालिकाका लागि विशेष प्रबन्ध गर्न माग

राजनीति

प्रतिनिधिसभा : बाढीप्रभावित महिला र बालबालिकाका लागि विशेष प्रबन्ध गर्न माग

प्रतिनिधिसभाको विशेष समयमा भाग लिने सांसदहरूले बाढीप्रभावित महिला र बालबालिकालाई अन्य समूहबाट छुट्टै र सुरक्षित स्थानमा राख्नको लागि माग गर्नुभयो ।

न्युज बिहानी
न्युज बिहानी
Shares
प्रतिनिधिसभा : बाढीप्रभावित महिला र बालबालिकाका लागि विशेष प्रबन्ध गर्न माग

काठमाडौँ, २६ भदौः प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले भोटेकोशीबाढीबाट प्रभावित जिल्लाका रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका ‘होल्डिङ सेन्टर’ मा  रहेका महिला तथा बालबालिकाहरूको अवस्था दयनीय भएकाले उनीहरूको उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको विशेष समयमा भाग लिने सांसदहरूले बाढीप्रभावित महिला र बालबालिकालाई अन्य समूहबाट छुट्टै र सुरक्षित स्थानमा राख्नको लागि माग गर्नुभयो ।

सांसद अर्जुननरसिंह केसी बाढीग्रस्त रसुवा र नुवाकोटको होल्डिङकक्षमा राखिएका महिला र बालबालिकाको अवस्था दयनीय भएकाले पीडितहरूलाई यथाशीघ्र व्यवस्थित ढङ्गले ‘होल्डिङ सेन्टर’ सञ्चालनमा ल्याउन माग गर्नुभयो । उहाँहरूको उचित खाना र सुरक्षाको प्रबन्ध मिलाउन सांसद केसीले आग्रह गर्नुभयो । अनुष्का श्रेष्ठले जलवायु परिवर्तनको प्रभाव नेपालमा बारम्बार देखापरेकाले पनि अन्तरराष्ट्रिय मञ्चमा जोडदार माग गर्नुभयो । त्यसैगरी सांसद आनन्दबहादुर चन्दले सरकारले ग्यास सिलिण्डरमा व्यवसायीलाई नभएर सामान्य घरेलु उपभोक्तालाई राहत दिन माग गर्नुभयो ।

सांसद अफ्साना बानुले विपक्षी राजनीतिक दलका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदलाई अपशब्द बोल्ने गरेको भन्दै सो विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद अभिषेकप्रताप शाहले तराई/मधेसका जिल्ला विद्यालयमा दरबन्दी अनुसारको शिक्षक नहुँदा पठनपाठनमा समस्या भएको बताउनुभयो । सांसद विक कुनै पनि विपद्को घटना बाजा बजाएर नआउने भएकाले विपद्मा आधारभूत ज्यान जोगाउने विषयमा विद्यालयको पाठ्यक्रममा समेट्नुपर्ने बताउनुभयो ।  

सांसद अम्बिकादेवि संग्रौला मुलुक विपद्सँग जुधिरहेको बेला मुलुकमा ग्याँसको सङ्कटको कारणले सर्वसाधारणले सास्ती भोग्नुपरेको बताउनुभयो । सांसद आशिका तामाङले पसलमा ग्यासको सिलिण्डर हुने तर जनताले ग्यास नपाउने समस्याको अन्त्य गर्न सरकारसँग माग गर्नुभयो । सांसद एलिजा गुरुङले हिमताल फुट्ने जोखिम उच्च भएकाले सोको अध्ययन गरेर आवश्यक सतर्कता र सावधानी अपनाउनको लागि माग गर्नुभयो । 

सांसद यशोदा बरालले महिला र बालबालिकामाथि पछिल्लो समय साइबरबुलिङ भइरहेको भन्दै त्यस्ता कार्य रोक्न सरकारसँग माग गर्नुभयो । सांसद ओजश्वी शेरचनले बाढीप्रभावित क्षेत्रमा रहेका अस्पतालमा शल्यक्रिया गर्ने बेला जेनेरेटरमा इन्धनसमेत अभाव रहेको बताउनुभयो । सांसद अङ्किता ठाकुर चाडपर्व नजिकिँदै गइरहेको बेला ग्यास र खाद्यान्न अभावलाई तत्कालै सम्बोधन गर्न माग गर्नुभयो । सांसद कमल सुवेदी सरकारी तथ्याङ्कले ग्यासको आपूर्ति बढेको देखाए पनि जनताले ग्यास नपाएको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । 

सांसद करिश्मा कठरियाले ग्रामीण महिलाको समस्यालाई नजरअन्दाज गर्ने परिपाटीको अन्त्य हुनुपर्ने बताउनुभयो । सांसद कविन्द्र बुर्लाकोटीले देशभर सडक खनिएता पनि सडकको मालपोत कर जनताले तिर्दै आइरहेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद कामिनी कुमारीले क्यान्सर रोगको उपचार निःशुल्क हुनुपर्नेमा जोड दिनुभयो । सांसद कुलभक्त शाक्यले भोटेकोशी ग्यास वितरणमा प्रणालीमा कमीकमजोरी देखिएकाले वैकल्पिक व्यवस्थापन गर्न माग गर्नुभयो । 

सांसद कालीबहादुर सहकारीले भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावितको लागि उद्धार र राहतसँगै मनोपरामर्शको आवश्यता रहेको बताउनुभयो । सांसद कृपा महर्जन विद्युत्को नियमित आपूर्ति नहुँदा बाढीप्रभावित क्षेत्रमा समस्या भोग्नुपरेको बताउनुभयो ।सांसद कृष्णहरि बुढाथोकीले भोटेकोशीबाढीमा रामेछापका ४४ जना सम्पर्कविहीन भएकाले खोजी कार्यमा सक्रियता देखाउन सरकारसँग माग गर्नुभयो । सांसद कोमल ज्ञवालीले कैलाली र कञ्जनपुरका १६५ जनाभन्दा धेरै नागरिक भोटेकोशी बाढीमा सम्पर्कविहीन भएकाले खोजी कार्यमा सक्रियता देखाउन माग गर्नुभयो । 

सांसद क्रान्तिशिखा धितालले आत्महत्या र आत्मदाह गर्ने प्रवृत्ति बढेकाले पनि सोको रोकथाम र नियन्त्रणको लागि मानसिक स्वास्थ्यको विषयमा प्रभावकारी ढङ्गले काम गर्नुपर्ने बताउनुभयो । सांसद खगेन्द्र सुनारले सामान्य आरोपको भरमा तीन जना मन्त्री बर्खास्तमा पर्नुभएको बताउँदै नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीको बारेमा पनि भ्रष्टाचारको आरोप लागेकाले पनि आवश्यक अनुसन्धान गर्नुपर्ने बताउनुभयो । 

सांसद खडकबहादुर बुढा यस वर्षमात्रै विपद्को कारणले जाजकोटका ८ जना नागरिकको मृत्यु भएकाले नागरिकको जीउधनको रक्षाको लागि सरकार सक्रिय भएर लाग्नुपर्ने बताउनुभयो । सांसद खड्ग शाही मुगु जिल्लाका धेरै बस्ती जोखिममा भएकाले पनि तत्कालै आवश्यक सुरक्षा अपनाउनको लागि अनुरोध गर्नुभयो । सांसद खिमा विकले देवीघाटमा पुल निर्माणमा सरकारले प्रभावकारी ढङ्गले काम गर्दै आइरहेको बताउनुभयो । सांसद खुश्बु ओलीले प्रधानमन्त्री आफैँले गोजीमा पैसा नहुनेले उपचार पाउनुपर्छ भन्ने एजेन्डा किन कार्यान्वयन नभएको भन्दै प्रश्न गर्नुभयो ।

सांसद खेमराज कोइराला वैदेशिक रोजगारको प्रलोभनमा पारेर नागरिकलाई ढाँटेर दुःख दिएको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद गजला शमीम मिकरानीले जलवायु परिवर्तनको कारणले नेपालका हिमशृङ्खला पग्लेर विभिन्नखालका विपद् आएकाले पनि यहाँका सर्वसाधारणको अवस्था दयनीय भएकाले पनि जलवायू न्याय पाउनुपर्ने माग गर्नुभयो । सांसद गणेश कार्कीले जलवायु विपद् भयानक भएकाले पनि विपद् व्यवस्थापनमा धेरै गाह्रो भइरहेको बताउनुभयो । सांसद गणेशबहादुर विश्वकर्माले गजेन्द्रनारायण अस्पतालमा पटकपटक हेलचेक्य्राइँ भइरहेकाले दोषीमाथि कारबाही गर्न माग गर्नुभयो ।

सांसद गणेशसिंह ठगुन्नाले दार्चुलामा जिल्ला न्यायाधीश नपठाउँदा जिल्लाका नागरिकले न्याय प्राप्त गर्न नसकेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद गीताकुमारी सेन्दाङले ताप्लेजुङमा विभिन्न खेलकुद प्रतियोगिता भएपनि उचित खालको प्यारापिटसहितको फुटबलको खेलमैदान बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।सांसद गुरूप्रसाद बरालले एलपी ग्यास प्रयोगकर्तालाई विद्युतीय चुल्हो प्रयोग गर्ने वातावरण बनाउनुपर्ने बताउनुभयो । सांसद गोविन्द पन्थी  सरकारले सुशासन ल्याउन प्रतिबद्ध भए पनि शासनशैली र जीवनशैली परिवर्तन नभएको विषयमा ध्यानाकर्षण गराउनुभयो । सांसद गङ्गादेवि श्रेष्ठले धादिङको फुर्केखोलामा तत्कालै पुल निर्माण गर्न सरकारसँग जोडदार माग गर्नुभएको छ । 

सांसद गङ्गालक्ष्मी भोटेकोशीबाढीको कारणले रोजगारी गुमाएका व्यक्तिहरूको लागि होल्स्टिक राहत र पुनर्जीवनमा फर्किने वातावरण बनाउन माग गर्नुभयो । सांसद इन्दिरा रानामगरले सहरमा बस्नेसँग त ग्यासको अभाव भइरहेको छ भने ग्रामीण क्षेत्रसँग बस्नेको समस्याको विषयमा पनि सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । सांसद अचुतम लामिछानेले बाढीप्रभावित क्षेत्रमा सडक लगायतका संरचनामा क्षति भएकाले तत्कालै पुल र अन्य पूर्वाधार निर्माण गर्ने नीति अघि सार्नुपर्ने बताउनुभयो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup