अलग्गै पार्टी बनाउने तयारीस्वरूप इतर पक्षले राष्ट्रिय कार्यकर्ता भेला आह्वान गरेपछि प्रमुख प्र्रतिपक्षी दल कांग्रेसको संस्थापन पक्ष पनि सक्रिय भएको छ । इतर पक्षले २९ साउनमा भेला आह्वान गरेको पाँच दिन अगावै संस्थापन पक्षले २४ साउनमा केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । एक साताको बिचमा कांग्रेसका दुई समूहले गर्न लागेका घटनाक्रम अर्थपूर्ण छन् ।
कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले २४ साउनमा पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको र त्यसमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई उपस्थितिका लागि भनिएको बताए । उनले उक्त बैठकमा पार्टीको आन्तरिक एकतासहित समसामयिक राजनीतिक विषयमा छलफल हुने बताए ।
संस्थापन पक्ष आन्तरिक एकताका लागि गम्भीर नभएको आरोप इतरपक्षले लगाउँदै आएको छ । २९ साउनसम्मको अल्टिमेटम दिँदै इतरपक्षले उक्त अवधिसम्म सहमति नभए भेलामार्फत नयाँ दल गठनको तयारी गरेको छ । तर, संस्थापन पक्षले पार्टी एकता अहिलेको आवश्यकता रहेको भन्दै असन्तुष्ट पक्षसँग संवाद अगाडि बढाउने बताएको छ । तर, आइतबार यसमा कुनै प्रगति भएको छैन ।
इतर पक्षले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको नेतृत्वमा ५५१ सदस्यीय भेला आयोजक समिति गठन गरिसकेको छ । भेलाका लागि १६ वटा तयारी समिति पनि गठन गरिएको छ । संस्थापन इतरपक्षले १४औँ महाधिवेशनबाट निर्वाचित १११ जनालाई केन्द्रीय कमिटीमा समेट्नुपर्ने मुख्य माग अघि सारेको छ । संस्थापन पक्षले भने पुरानो कार्यसमितिलाई विशेष महाधिवेशनले विस्थापित गरेकाले त्यही कार्यसमितिलाई नयाँ कार्यसमितिमा समायोजन गर्न नमिल्ने अडान राख्दै आएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।
प्रतिक्रिया दिनुहोस् (Comments)
तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।
लगइन गर्नुहोस्