एनएमबि बैंकको नेतृत्वमा तिला १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
एनएमबि बैंक लि. ले ४४० मेगावाट क्षमताको कालीकोट जिल्लामा अवस्थित तिला १ जलविद्युत आयोजनाको अगुवा लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ । कालीकोट जिल्लाको तिला खोलामा एस.सी. पावर कम्पनी प्रा. लि. द्वारा निर्माण गर्न लागिएको यो आयोजनाको कुल अनुमानित लागत रु. ५९.४ अर्ब रहेको छ । कुल लागतमध्ये बैंकहरुको ऋण लगानी रु. ४४.५५ अर्ब रहनेछ ।
यस वित्तीय व्यवस्थापनमा एनएमबि बैंक लि. अगुवा बैंक (Lead Banks) को रुपमा रहेको छ भने ग्लोबल आइएमई बैंक लि., हिमालयन बैंक लि. तथा प्रभु बैंक लि. सह–अगुवा बैंक (Co–Lead Banks) / रहनुका साथै, अन्य बिभिन्न बैंक तथा वित्तीय संस्थाहरु सहभागी (Members Banks/Financial Institutions) को रुपमा रहने छन् ।
एस.सी. पावर कम्पनी प्रा. लि.को मुख्य नेतृत्व श्री सुसन कर्माचार्य तथा उहाँको समूहले गरेको छ । तिला १ जलविद्युत आयोजनाको उत्पादन अनुमतिपत्र अनुसार कुल क्षमता ४४० मेगावाट रहेको छ र पीपीए अनुसार आयोजनाको व्यावसायिक उत्पादन सुरु गर्नुपर्ने मिति वि.सं. २०८७ पुस १५ (३१ डिसेम्बर २०३०) रहेको छ ।
एनएमबि बैंक लि. को तर्फबाट सहायक महाप्रबन्धक श्री दिनेश दुलाल तथा कम्पनीको तर्फबाट अध्यक्ष श्री सुसन कर्माचार्यले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । निजी क्षेत्रको लगानी र नेतृत्वमा अघि बढाइएको यो जलविद्युत आयोजना जडान क्षमताका हिसाबले अहिलेसमको ठुलो आयोजना हो ।
आयोजना निर्माण पश्चात् पहिलो वषर् करिब रु. ११.४ अर्ब आम्दानी हुने अनुमान गरिएको छ । एनएमबि बैंक लि. ले नेपाल राष्ट्र बैंकद्वारा जारी वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन सम्बन्धी निर्देशिका अनुसार वातावरणीय तथा सामाजिक नीति तथा व्यवस्थापन प्रणाली कार्यान्वयन गर्दै लगानीका वातावरणीय तथा सामाजिक पक्षहरुको मूल्याङ्कनका आधारमा जिम्मेवार तथा दिगो लगानीलाई प्राथमिकता दिँदै आएको छ ।
साथै, अन्तराष्ट्रिय असल अभ्यासहरुको अवलम्बन गर्ने क्रममा यस आयोजना Hydropower Sustainability Alliance (HSA) द्घारा विकसित (Hydroselect Tool) प्रारम्भिक वातावरणीय, सामाजिक तथा सुशासन परीक्षण उपकरण प्रयोग गरी आयोजनाका वातावरणीय तथा सामाजिक पक्षहरुको अध्ययन तथा मूल्याङ्कन गरिएको थियो । एनएमबि बैंकले हालसम्म ५० भन्दा बढी जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ । एनएमबि बैंकले हाल देशभरी १९७ शाखाहरु, १७६ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस् (Comments)
तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।
लगइन गर्नुहोस्