काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रताप सुवेदीलाई नियुक्त गरेको छ। अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसका आधारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो।
नवनियुक्त सीईओ सुवेदीलाई बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नियुक्तिपत्र प्रदान गरेका छन्। नियुक्तिपत्र हस्तान्तरण गर्दै अर्थमन्त्री वाग्लेले सुवेदीलाई आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न निर्देशन दिएका छन्। अर्थमन्त्रीको सचिवालयले उक्त जानकारी दिएको हो। नेप्सेको नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएका सुवेदीसामु नेपालको पुँजीबजारलाई थप पारदर्शी, प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउने चुनौती रहनेछ।
विशेषगरी सेयर बजारमा लगानीकर्ताको विश्वास अभिवृद्धि, कारोबार प्रणालीको आधुनिकीकरण, बजारमा हुने अनियमितता नियन्त्रण, संस्थागत सुशासन र नियामक निकायसँगको प्रभावकारी समन्वय उनका प्राथमिक कार्यक्षेत्र बन्नेछन्।नयाँ नेतृत्वले नेप्सेको संस्थागत सुधार, बजार विस्तार तथा लगानीकर्ताको हित संरक्षणमा कस्तो भूमिका निर्वाह गर्छ भन्ने चासो पुँजीबजार क्षेत्रमा बढेको छ।
प्रतिक्रिया दिनुहोस् (Comments)
तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।
लगइन गर्नुहोस्