लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

समाचार

सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

न्युज बिहानी
न्युज बिहानी
Shares
सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

म्याग्दी, १२ कात्तिकः ढाड दुख्ने समस्याबाट पीडित नवलपुर गैडाकोटका प्रदीप सुवेदी प्राकृतिक उपचार गर्नका लागि म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको सिंगा–तातोपानी कुण्डमा आउनुभएको छ । “पहिलो पटक श्रीमतीलाई लिएर आएको थिए । १५ दिनसम्म तातोपानीमा डुबेपछि उहाँको स्वास्थ्यमा राम्रो सुधार भयो । त्यसपछि म पनि ढाड दुख्ने समस्या कम हुने आशाले यहाँ आएको हुँ,” सुवेदीले भन्नुभयो ।

सुवेदीजस्तै देशका विभिन्न स्थानबाट स्वास्थ्य सुधार हुने आशा लिएर सिंगा तातोपानी कुण्डमा आउनेको सङ्ख्या बढ्दै गएको छ । दसैँतिहारको बिदा र चिसो बढ्न थालेसँगै यस कुण्डमा स्नान गर्ने पाहुनाको चहलपहल बढेको हो ।बागलुङ नगरपालिका–५ का केशवबहादुर केसी २०५८ सालमा दुर्घटनामा परेर खुट्टा भाँचिएपछि लामो समयदेखि दुखाइको समस्या भोग्दै आउनुभएको छ । शिक्षक पनि रहनुभएका केसी विगत १० वर्षदेखि हरेक वर्ष दसैँतिहारको बिदामा सात दिनका लागि तातोपानी कुण्डमा स्नान गर्न आउनुहुन्छ । कुण्डमा डुबेपछि दुखाइ कम हुने गरेको उहाँको अनुभव छ ।

काठमाडौँकी राधादेवी शर्मा पनि २०६३ सालदेखि हरेक वर्ष तातोपानी कुण्डमा स्नान गर्न आउने गर्नुभएको छ । नसा च्यापिने र कम्मर दुख्ने समस्या भएपछि कुण्डमा आउन थालेको उहाँले बताउनुभयो । आमा, बुबा र छिमेकी यहाँ आएर स्नान गरेको अनुभव सुनाउँदै उहाँले तातोपानीले शरीर हलुका हुने र ग्यास्ट्रिकको समस्या कम भएको बताउनुभयो ।“घरमा बाथटब बनाएर तातोपानीमा डुब्नु र यहाँ प्राकृतिक रूपमा निस्किएको तातोपानीमा शरीर डुबाएर स्नान गर्नुमा फरक छ । यहाँको वातावरण र प्राकृतिक पानीले थप सहज महसुस हुन्छ,” शर्माले भन्नुभयो ।

दुखाइ कम हुने आशा
बागलुङका सरिता केसीका लागि सिंगा तातोपानी कुण्डको अनुभव नयाँ हो । छिमेकीबाट कुण्डबारे जानकारी पाएपछि उहाँ यसपालि दसैँको बिदा मिलाएर यहाँ आउनुभएको हो । दसैँअघि स्कुटर दुर्घटनामा परेपछि औँलाको नसा च्यापिने र टाउको दुख्ने समस्या भएपछि स्नान गर्न आएको उहाँले बताउनुभयो । कुण्डमा स्नान गरेपछि दुखाइमा सुधार भएको र शरीरमा स्फूर्ति आएको उहाँको अनुभव छ ।

“यहाँको वातावरणमा आइपुग्दा मन हलुका भएको महसुस भयो । स्नान गरेपछि शरीरलाई आराम मिलेको छ,” केसीले भन्नुभयो । पर्वतको कुश्मा नगरपालिका–११ पकुवाकी सीता तिमिल्सिना चार वर्षदेखि नियमित रूपमा तातोपानी कुण्डमा आउनुहुन्छ । चिसो बढ्दा दमको समस्या बल्झिने गरे पनि यहाँ स्नान गरेपछि सहज महसुस हुने उहाँले बताउनुभयो । आफ्नो स्वास्थ्यमा सुधार भएको अनुभवपछि आफन्त र दिदीबहिनीलाई स्नान गराउन ल्याएको उहाँको भनाइ छ ।

पाल्पाको रम्भा गाउँपालिका–४ की मनिषा भट्टराई पौडेल पनि यसपालि दोस्रो पटक कुण्डमा आउनुभएको हो । गत वर्ष पहिलो पटक कुण्डमा स्नान गरेको केही समयपछि नसासम्बन्धी समस्यामा सुधार भएको उहाँको अनुभव छ । “जेठाजु र जेठानीको सल्लाहमा गत वर्ष पहिलो पटक यहाँ आएकी थिएँ । स्नान गरेपछि स्वास्थ्यमा सुधार भयो । यसपालि आमा र परिवारका अन्य सदस्यसहित पाँच जनाको टोली आएका छौँ,” पौडेलले भन्नुभयो ।

उहाँका श्रीमानलाई पनि युरिक एसिड र ग्यास्ट्रिकको समस्या थियो । कुण्डमा स्नान गर्न थालेपछि स्वास्थ्यमा सुधार भएको उहाँले बताउनुभयो । म्याग्दीको मालिका गाउँपालिका–४ का फाले सुनारले पनि तातोपानीमा स्नान गर्दा अस्पताल आउजाउ गर्न र औषधि किन्न लाग्ने खर्च तथा समय बचत भएको अनुभव सुनाउनुभयो । 

दैनिक सात सयसम्मले गर्दैछन् स्नान
सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काका अनुसार दसैँलगत्तै दैनिक छ सयदेखि सात सय जनासम्मले कुण्डमा स्नान गरिरहेका छन् । विगतका वर्षमा असोज र कात्तिक महिनामा दैनिक एक हजार ५०० जनासम्म स्नान गर्न आउने गरेका थिए । “कुण्डमा एकपटकमा २५० जनासम्मले स्नान गर्न मिल्छ । महिला र पुरुषका लागि छुट्टाछुट्टै समयतालिका बनाइएको छ,” अध्यक्ष खड्काले भन्नुभयो ।

गत वर्ष नेपालका ७७ वटै जिल्लाका साथै विदेशबाट पनि गरी २१ हजारभन्दा बढी व्यक्ति प्राकृतिक तातोपानीमा स्नान गर्न आएको कुण्ड व्यवस्थापन समितिका कर्मचारी रेशम कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार बिहान ५ः३० देखि साँझ ५ः३० बजेसम्म महिला र पुरुषका लागि छुट्टाछुट्टै समूह बनाएर स्नानको व्यवस्था मिलाइएको छ । असोजदेखि वैशाखसम्मको समयलाई तातोपानी कुण्डमा स्नान गर्ने मुख्य यामका रूपमा लिइन्छ ।

म्याग्दी नदीको किनारमा प्राकृतिक रूपमा निस्कने तातोपानीलाई पोखरीमा सङ्कलन गरेर स्नान गर्ने व्यवस्था मिलाइएको छ । करिब ५० डिग्री सेल्सियस तापक्रममा निस्कने पानीमा बिरेनुनको जस्तो गन्ध आउने कुण्ड व्यवस्थापन समितिका सचिव अमर केसी (कुमार)ले बताउनुभयो । स्थानीयवासी तथा यहाँ आउने पाहुनाले तातोपानीमा स्नान गर्दा छाला, बाथ, ग्यास्ट्रिक तथा चोटपटकका कारण हुने दुखाइमा राहत मिल्ने विश्वास गर्छन् । 

स्नानसँगै तातोपानी पिउने चलन रहेको छ । काठमाडौँकी सविना शर्माले पनि स्नान र तातोपानी सेवनपछि स्वास्थ्यमा फाइदा भएको अनुभव सुनाउनुभयो ।कुण्डमा सात दिन स्नान गर्न प्रतिव्यक्ति रु ३५० र नौ दिनका लागि रु ५०० शुल्क निर्धारण गरिएको छ । प्रवेश शुल्कबाट उठेको रकमको १३ प्रतिशत सरकारलाई कर र २५ प्रतिशत बेनी नगरपालिकालाई बुझाउने गरिएको समितिले जनाएको छ ।

बाढीले क्षति पु¥याएपछि पुनः सञ्चालन
गत असोजको अविरल वर्षापछि आएको बाढी र पहिरोले सिंगा तातोपानी कुण्डमा क्षति पु¥याएको थियो । बाढीले कुण्डमा हिलो र फोहोर थुपारेपछि स्थानीयवासी तथा सरोकारवालाले श्रमदान गरेर सरसफाइ र पहिरो पन्छाउने काम गरेका थिए । त्यसपछि असोज २७ गतेदेखि कुण्ड नियमित रूपमा सञ्चालनमा आएको हो ।

बाढीपहिरोले कुण्डका भौतिक संरचनामा करिब रु तीन करोड बराबरको क्षति पु¥याएको प्रारम्भिक अनुमान छ । छोटो अवधिका लागि आउने पाहुनाले स्नान गर्ने पोखरीमा क्षति पुगेकाले त्यो अझै सञ्चालनमा आउन सकेको छैन । कुण्डको संरक्षण तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि सर्वेक्षण र लागत अनुमान तयार गरी सरकारसँग बजेट माग गरिएको व्यवस्थापन समितिले जनाएको छ । बाढीले स्नान गर्ने क्षेत्र साँघुरिएकाले व्यवस्थापनमा चुनौती थपिएको छ ।

पाहुनाको चहलपहलले होटल व्यवसायमा उत्साह
तातोपानी कुण्डमा स्नान गर्न देशका विभिन्न ठाउँबाट पाहुना आउन थालेपछि स्थानीय होटल तथा घरबास व्यवसायमा पनि चहलपहल बढेको छ । होटल व्यवसायी समिति तातोपानीका अध्यक्ष सीता घलेका अनुसार यहाँका होटल र घरबासका कोठा पाहुनाले भरिन थालेका छन् ।

“यहाँ सानाठूला गरी २० वटा होटल छन् । पाहुनाले घरका कोठा र ग्यास भाडामा लिएर आफैँ खाना पकाएर बस्न पनि सक्छन्,” घलेले भन्नुभयो । म्याग्दी नदीमा पाइने असला माछा यहाँको विशेष परिकार हो । प्राकृतिक तातोपानीमा स्नान गर्ने, स्थानीय वातावरणमा रमाउने र यहाँका परिकारको स्वाद लिने अवसरले पनि पाहुनालाई आकर्षित गरेको व्यवसायीको भनाइ छ ।

प्राकृतिक रूपमा निस्कने तातोपानी, स्थानीयको आतिथ्य र सहज बसोबासको व्यवस्थाले सिंगा तातोपानी कुण्डलाई म्याग्दीको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पु¥याएको छ । स्वास्थ्यसम्बन्धी विभिन्न समस्या लिएर आउने पाहुनाले यहाँ स्नानपछि राहत मिलेको अनुभव सुनाएपनि थप वैज्ञानिक अनुसन्धानको आवश्यकता देखिएको छ । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup