लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

हुलाकलाई ‘सरकारी कुरियर सेवा’का रूपमा विकास गर्ने योजना प्रभावकारी छ : सञ्चारमन्त्री

राजनीति

हुलाकलाई ‘सरकारी कुरियर सेवा’का रूपमा विकास गर्ने योजना प्रभावकारी छ : सञ्चारमन्त्री

विभागले ती व्यक्तित्वका तस्बिर अङ्कित प्रतिटिकट १० रुपैयाँ दरका टिकट प्रचलनमा ल्याएको जनाएको छ ।

न्युज बिहानी
न्युज बिहानी
Shares
हुलाकलाई ‘सरकारी कुरियर सेवा’का रूपमा विकास गर्ने योजना प्रभावकारी छ : सञ्चारमन्त्री

काठमाडौँ, २३ असोजः सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक, प्रभावकारी र नागरिकमैत्री बनाउँदै ‘सरकारी कुरियर सेवा’का रूपमा विकास गर्ने सरकारको योजना प्रभावकारी रूपमा कार्यान्वयन हुँदै गएको बताउनुभएको छ । हुलाक सेवा विभागद्वारा १५२औँ विश्व हुलाक दिवसका अवसरमा आयोजित फिलाटेलिक प्रदर्शनी कार्यक्रममा उहाँले बदलिँदो समय र नागरिकको आवश्यकताअनुसार हुलाक सेवालाई पुनःसंरचना गरी आम नागरिकको पहुँचमा पुर्‍याउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

हुलाक सेवाको ऐतिहासिक महत्त्वलाई कायम राख्दै यसलाई आधुनिक जीवनसँग जोड्न आवश्यक रहेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले भन्नुभयो, “हुलाक सेवाले विशिष्ट इतिहास बोकेको छ । अब यसको इतिहाससँगै भविष्यलाई पनि सोचेर आधुनिक, जीवनोपयोगी र नागरिक केन्द्रित सेवा बनाउनुपर्छ ।”उहाँले आधुनिक प्रविधिको विकाससँगै नागरिकका आवश्यकता र सेवा प्राप्त गर्ने तरिकामा परिवर्तन आएको उल्लेख गर्दै हुलाक सेवालाई समयानुकूल बनाउनु आवश्यक रहेकामा जोड दिनुभयो । देशभर फैलिएको हुलाक सञ्जाललाई उपयोग गर्दै सरकारी सेवा तथा सामग्री नागरिकको घरदैलोसम्म पुर्‍याउने प्रभावकारी माध्यमका रूपमा विकास गर्न सकिने उहाँको भनाइ छ ।

हुलाक सेवालाई पुनर्संरचना गरी नागरिकलाई सहज, छरितो र भरपर्दो सेवा उपलब्ध गराउनेतर्फ सरकारले योजना कार्यान्वयन भइरहेको उल्लेख गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले यसको क्षेत्र र सेवा थप सुधारमा परिणाममुखी र उदाहरणीय काम गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाल एकीकरण तथा राष्ट्र निर्माणमा योगदान पुर्‍याउने व्यक्तित्वदेखि विश्व प्रविधिको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने व्यक्तित्वसम्मको योगदानलाई स्मरण गर्दै नयाँ हुलाक टिकट प्रचलनमा ल्याइएको छ । हुलाक सेवा विभागले नेपाल एकीकरण तथा राष्ट्र निर्माणमा योगदान पुर्‍याएका बिसे नगर्ची र वाङ्गे सार्की, प्रथम विश्वयुद्धमा भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापामगर र कर्णबहादुर रानामगर तथा टेलिभिजन आविष्कार भएको एक सय वर्षका अवसरमा आविष्कारक जोन लोगी बेयर्डका तस्बिर अङ्कित हुलाक टिकट जारी गरेको हो । विभागले ती व्यक्तित्वका तस्बिर अङ्कित प्रतिटिकट १० रुपैयाँ दरका टिकट प्रचलनमा ल्याएको जनाएको छ ।

कार्यक्रममा सञ्चारमन्त्री डा तिमिल्सिनाले उक्त हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गर्नुभयो । कार्यक्रममा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले बिसे नगर्ची र वाङ्गे सार्कीको तस्बिर अङ्कित हुलाक टिकट जारी हुनुले दलित समुदायका ऐतिहासिक योगदानलाई राज्यले सम्मान गरेको बताउनुभयो । उहाँले सूचना प्रविधिको तीव्र विकास भएको वर्तमान समयमा पनि हुलाक सेवाको उपादेयता कायम रहेको उल्लेख गर्दै यसलाई आधुनिक कुरियर सेवाका रूपमा विकास गर्न आवश्यक रहेको बताउनुभयो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup