लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

आज जनैपूर्णिमा पर्व मनाइँदै

कला सस्कृति

आज जनैपूर्णिमा पर्व मनाइँदै

न्युज बिहानी
न्युज बिहानी
Shares
आज जनैपूर्णिमा पर्व मनाइँदै

काठमाडौँ, १२ भदौ : देशभर नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर आज जनैपूर्णिमा पर्व मनाइँदैछ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने प्रचलन छ । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ ।आजकै दिन ब्राह्मण, क्षेत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्नुपर्ने विधानशास्त्रमा उल्लेख छ । यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनीतो गरी बसिन्छ । यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । 

स्नानपछि जाँै, तिल र कुशद्वारा ऋषिहरूलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेरिन्छ । अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो । वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ । रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायकलगायत वाग्मती नदीको किनार र काठमाडौँ उपत्यकालगायत देशभरका मठमन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ । 

जनैपूर्णिमाका दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ । विभिन्न थरि गेडागुडीको मिसाएर बनाइएको क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सकहरूको भनाइ छ । यसबाट चिसो गाडिएर लाग्ने रुघाखोकीजस्ता रोग निको हुने विश्वास छ ।
 
नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर यो पर्व मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेम सम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ । अहिले यो परम्परा पहाडी क्षेत्रमा पनि बढ्न थालेको छ । काठमाडौँको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा श्रावण शुक्ल पूर्णिमा दिन आज  बिहानैदेखि मेला लाग्ने गर्छ । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Ad ends in 15s
gov