लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

भाद्र शुक्ल चतुर्दशी : राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन

राजनीति

भाद्र शुक्ल चतुर्दशी : राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन

जात्राका अवसरमा राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाई यात्रा गराउने अनुमति दिनुभएको थियो । यसपछि श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो ।

न्युज बिहानी
न्युज बिहानी
Shares
भाद्र शुक्ल चतुर्दशी : राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन

काठमाडौँ, ९ असोजः सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल जुद्ध सालिकबाट पैदल हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक जानुभई जात्रा अवलोकन गर्नुभएको छ । राष्ट्रपति पौडेल जुद्ध सालिकमै गाडीबाट झरेर पैदल गद्दी बैठक पुग्नुभएको हो । इन्द्रजात्रा अवलोकन गर्न राष्ट्राध्यक्ष जुद्द सालिकबाट पैदल जाने क्रम तीन वर्षअघिदेखि सुरु भएको हो । यसअघिका राष्ट्रपति र राजा गद्दी बैठकअघिसम्म नै गाडीमा जाने गर्नुभएको थियो ।

जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, कार्यवाहक प्रधानमन्त्री डा स्वर्णिम वाग्ले, प्रधानन्यायधीश मनोजकुमार शर्मा, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायत मन्त्रीगण, सांसदहरू, प्रदेशसभा सदस्यहरू, संवैधानिक निकायका प्रमुखहरू, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधिलगायत सहभागी पनि पैदल नै गद्दी बैठकसम्म जानुभएको थियो ।

आगन्तुक विशिष्ट अतिथिहरूलाई काठमाडौँ महानगरपालिकाका कार्यवाहक नगरप्रमुख सुनिता डङ्गोल, गुठी संस्थानका अध्यक्ष डा गोविन्द टण्डन, प्रशासक शैलेशराज कुँवर, महानगरपालिका वडा नं २४ का अध्यक्ष विनोदकुमार राजभण्डारीलगायतले पुष्पगुच्छासहित वसन्तपुर दरबार क्षेत्रमा स्वागत गर्नुभएको थियो । जात्राका अवसरमा राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाई यात्रा गराउने अनुमति दिनुभएको थियो । यसपछि श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो ।

भाद्र शुक्ल द्वादशीका दिन बुधबार बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुुरु भएको इन्द्रजात्राको आज मुख्य दिन हो । आज तल्लोटोलमा रथयात्रा चलाइने गुठी संस्थान काठमाडौँ शाखाका प्रमुख पवित्राकुमारी पाण्डेले राससलाई जानकारी दिनुभयो । शनिबार माथिल्लो टोलमा रथयात्रा गरिने छ ।असोज १३ गते मङ्गलबार महिलाले मात्र रथ तानी नानीचा यात्रा चलाइने छ । यसै दिन बेलुकी राष्ट्रपति पौडेल हनुमानढोका दरबार जानुभई कुमारीबाट टीका एवं प्रसाद ग्रहण गर्नुहुनेछ । टीका प्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने परम्परासमेत छ ।

असोज १३ गते मङ्गलबार राति ९ः२५ बजे इन्द्रध्वज पातन गरेपछि दुई हप्ताभन्दा लामो इन्द्रजात्रा समाप्त हुन्छ । पातन गरेपछि इन्द्रजात्राको लिङ्गोलाई टेकु दोभानस्थित वाग्मती किनारमा सेलाइन्छ । लिङ्गो सेलाउन घिसारेर लैजाने परम्परा छ ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले निकालेको साइतमा लिङ्गोका लागि रुख काट्न वनयात्रा गरेपछि यो जात्राको प्रक्रिया सुरु हुन्छ । वनयात्रा, रुख कटान, लिङ्गो नगर प्रवेशलगायतको विधिपछि भाद्र शुक्ल द्वादशीका दिन इन्द्र ध्वजोत्थान गरिन्छ ।

इन्द्रजात्रा प्रताप मल्लको पालामा सुरु भएको विश्वास गरिन्छ । इन्द्रजात्रामा रथयात्राको चलन भने राजा गुणकामदेवले सुरु गर्नुभएको थियो । उपत्यकामा मनाइनेमध्ये यो लामो जात्रा हो । वर्षा र सहकालका देवताका रुपमा पूजिने इन्द्रको आज विधिपूर्वक पूजाआजा पनि गरिएको थियो । जात्राका अवसरमा लाखेनाच, दशअवतार नाचलगायत, महाकाली नाच, रामचन्द्र नाच, पुलुकिसी नाचलगायत सांस्कृतिक झाँकी, नाचगान हुने गर्छ । यस पर्वका अवसरमा आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup