काठमाडौँ, २६ कात्तिकः मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा इभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । बिहान करिब ६ः१० बजे काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको इभी गाडी सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा गाडीमा सवार १५ मध्ये १० जनाको मृत्यु भएको र पाँच जना घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको छ ।
भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा बिहीबार बिहान करिब ५ः४५ बजे भएको दुर्घटनामा ३ महिला, ५ पुरुष र २ बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका ३ पुरुष र २ बालकको उद्धार गरिएको छ ।
घटनास्थलमा सशस्त्र प्रहरी बल, सुरक्षा बेस भीमफेदीबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा उद्धार कार्यका लागि खटिएको छ भने नेपाली सेना र नेपाल प्रहरी सहितको संयुक्त टोलिले उद्धार जारी राखेको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।
प्रतिक्रिया दिनुहोस् (Comments)
तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।
लगइन गर्नुहोस्