काठमाडौं । मिड भ्याली इन्टरनेसनल कलेजले चीनको इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजी (ईसीयूटी) सँगको शैक्षिक सहकार्यलाई थप सुदृढ बनाउँदै सन् २०२६ को ‘ईसीयूटी कल्चरल एक्सचेन्ज प्रोग्राम’ सुरु गरेको छ । कार्यक्रमको औपचारिक सुरुवातका अवसरमा ईसीयूटी अन्तर्राष्ट्रिय विद्यालयका उपडिन झोउ लिङ र अन्तर्राष्ट्रिय सहकार्य तथा आदान–प्रदान कार्यालयका शाखा प्रमुख फान झेनछ्वानले नेपालको औपचारिक भ्रमण गरेका हुन् । भ्रमणका क्रममा उनीहरूले मिड भ्याली इन्टरनेसनल कलेजका नेतृत्व, प्राध्यापक तथा कार्यक्रममा सहभागी हुने विद्यार्थीसँग भेटघाट तथा अन्तरक्रिया गरेका थिए ।
यस कार्यक्रमअन्तर्गत मिड भ्याली इन्टरनेसनल कलेज र ग्यालेक्सी पब्लिक स्कुलका ११ जना विद्यार्थी आगामी अक्टोबर २५ देखि नोभेम्बर ४, २०२६ सम्म चीनको नानछाङ सहरमा आयोजना हुने अन्तर्राष्ट्रिय शैक्षिक तथा सांस्कृतिक आदान–प्रदान कार्यक्रममा सहभागी हुनेछन् । भ्रमणका क्रममा विद्यार्थीहरूले चिनियाँ भाषा तथा संस्कृतिसम्बन्धी कार्यशालामा सहभागिता जनाउने, ऐतिहासिक सम्पदा र संग्रहालयको अवलोकन गर्ने, परम्परागत चिनियाँ कला र संस्कृतिको अनुभव लिने तथा जिङदेजेन र वुयुआन क्षेत्रको भ्रमण गर्ने कार्यक्रम रहेको छ । साथै, उनीहरूले ईसीयूटीद्वारा आयोजना गरिने अन्तर्राष्ट्रिय सांस्कृतिक महोत्सवमा सहभागी भई विभिन्न देशका विद्यार्थीसँग अनुभव आदान–प्रदान गर्ने अवसर पनि प्राप्त गर्नेछन् ।
ईसीयूटीका प्रतिनिधिहरूले कार्यक्रममा विद्यार्थी जीवन, विश्वविद्यालयको शैक्षिक वातावरण तथा विश्वव्यापी शिक्षाको महत्वबारे जानकारी गराएका थिए। साथै, सहभागी विद्यार्थीहरूले आफ्ना जिज्ञासा राख्दै आगामी चीन भ्रमणबारे प्रत्यक्ष जानकारी लिने अवसर पाएका थिए । कार्यक्रमका अवसरमा मिड भ्याली इन्टरनेसनल कलेज व्यवस्थापनले ईसीयूटीप्रति आभार व्यक्त गर्दै यस सहकार्यले नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको अध्ययन, सांस्कृतिक अनुभव र विश्वदृष्टिकोण विकास गर्न महत्वपूणर् योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।
कलेजले यस्ता अन्तर्राष्ट्रिय साझेदारीमार्फत विद्यार्थीलाई विश्वस्तरीय शैक्षिक अवसर, व्यवहारिक सिकाइ, अन्तरसांस्कृतिक बुझाइ तथा विश्वव्यापी परिवेशमा आवश्यक सीप विकास गर्ने अवसर उपलब्ध गराउँदै आएको जनाएको छ ।मिड भ्याली इन्टरनेसनल कलेज, ग्यालेक्सी पब्लिक स्कुल र ईस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीबीचको सहकार्यले नेपाल–चीनबीचको शैक्षिक सम्बन्धलाई थप मजबुत बनाउँदै विद्यार्थीलाई अन्तर्राष्ट्रिय आदान–प्रदान, सांस्कृतिक अनुभव तथा विश्वस्तरीय शैक्षिक अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस् (Comments)
तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।
लगइन गर्नुहोस्