लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन : 'हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्'

राजनीति

बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन : 'हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्'

नेपालका तर्फबाट मन्त्री श्रेष्ठले राखेको प्रस्तावलाई ५३ देशका प्रतिनिधिले समर्थन गरेका छन् ।

न्युज बिहानी
न्युज बिहानी
Shares
बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन : 'हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्'

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलबायु परिवर्तनका  कारण निम्तिएका सङ्कटहरू कुनै एक देशको भौगोलिक सीमाभित्र मात्र सीमित नरहने बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घीय एशिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग (यूएन इएससीएपी) को मुख्यालय बैंककमा आयोजना गरिएको 'सगरमाथादेखि समुद्रसम्म' विषयक उच्चस्तरीय क्षेत्रीय संवादलाई सम्बोधन गर्दै उहाँले हिमाल जोगाउन विश्वले सहकार्य गर्नुपर्ने बताउनुभएको हो ।

नेपाल सरकार र यूएन इएससीएपीको संयुक्त आयोजनामा सुरु भएको उक्त संवादमा मन्त्री श्रेष्ठले गत २६ अगस्टमा भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी पहिरो र बाढीको भयावह अवस्थाबारे विश्व समुदायलाई जानकारी गराउनुभयो ।सम्बाेधनका क्रममा मन्त्री श्रेष्ठले लाङटाङ लिरुङको उच्च हिमाली क्षेत्रबाट खसेको चट्टान र हिमपहिरोका कारण सात मिनेटभित्रै नेपाल-चीन सीमा क्षेत्र र ३० मिनेटभित्र टिमुरे तथा स्याफ्रुबेंसी बजार पूर्ण रूपमा ध्वस्त भएको स्मरण गराउनुभयो ।

'विपत्तिको नौ साता बितिसक्दा पनि १,४०० भन्दा बढी मानिसको मृत्यु भएको पुष्टि भएको छ भने ५,२०० भन्दा बढी अझै बेपत्ता छन्,' मन्त्री श्रेष्ठले भन्नुभयो, 'धेरै परिवारहरूसँग दाहसंस्कारका लागि शवसम्म छैन, उनीहरूले कुशको पुत्ला बनाएर अन्तिम संस्कार गरिरहेका छन् । यो क्षतिलाई कुनै पनि आर्थिक मूल्याङ्कनले मापन गर्न सक्दैन ।'उहाँले यो घटना लगत्तै ११ अक्टोबरमा बुढीगण्डकीमा पहिरोले थुनिएको ताल फुटेर निर्माणाधीन ३४१ मेगावाटको जलविद्युत् आयोजनामा पुर्‍याएको क्षतिको उदाहरण दिँदै एउटा विपत्तिले अर्को विपत्ति निम्त्याउने 'सङ्कटको शृङ्खला'को जोखिमबारे ध्यानाकर्षण गराउनुभयो ।

नेपालले राख्यो चार प्रस्ताव
जलवायु परिवर्तनका असरहरूसँग जुध्न र सीमापार जोखिम व्यवस्थापनका लागि मन्त्री श्रेष्ठले क्षेत्रीय संवादमार्फत अन्तर्राष्ट्रिय समुदायसँग चारवटा प्रमुख प्रस्तावहरू अघि सार्नुभएको छ । पहिलो अन्तरिक्ष प्रविधि र तथ्यांक साझा गर्ने रहेको छ । यसका लागि अन्तर्राष्ट्रिय अन्तरिक्ष एजेन्सीहरू, वैज्ञानिक संस्थाहरू र सरकारहरू मिलेर हिमाली क्षेत्रका जोखिमयुक्त भिरपाखा र हिमनदीहरूको अनुगमन गर्न स्याटेलाइट, एआई र आधुनिक प्रविधिमा आधारित बहु-जोखिम पूर्वसूचना प्रणाली निर्माण गर्ने नेपालको प्रस्ताव छ ।
 
यसैगरी सूचना र ज्ञान साझा गर्ने प्रस्ताव छ । 'हाम्रा प्रधानमन्त्रीज्यूले तथ्यांक आदानप्रदान गर्न, हिमतालहरूको अनुगमन गर्न र हाम्रा हिमालहरूमा पूर्वसूचनाको समन्वय गर्न "हिमाली जलवायु उत्थानशीलता संयन्त्र"को प्रस्ताव गर्नुभएको छ। साझा नदीहरूको लामो इतिहासले द्वन्द्वभन्दा दोब्बर बढी सहकार्य भएको देखाउँछ, र सहकार्यको सुरुवात सधैँ तथ्यांकबाटै हुन्छ। त्यो तथ्यांक विपत्ति आइसकेपछि होइन, विपत्ति आउनुअघि नै हरेक दिशा र हरेक मौसममा प्रवाह हुनदेऊ। हिमालयलाई सहकार्यको एउटा विशाल प्रयोगशाला बनाऔँ,' मन्त्री श्रेष्ठले भन्नुभयो । 

तेस्रोमा विपत्तिकै गतिमा वित्तीय सहयोग तत्काल प्रवाह गर्ने प्रस्ताव छ । हिमालको अनुगमन गर्न लाखौँ डलर लागे पनि अनुगमन नगर्दा अरबौँको क्षति हुने भन्दै अनुगमन, पूर्वतयारी र पुनरुत्थानका लागि पहुँचयोग्य र अनुदानमा आधारित वित्तीय सहयोग उपलब्ध गराउन मन्त्री श्रेष्ठले प्रस्ताव राख्नुभएको छ । 'हानि तथा क्षतिको द्रुत सम्बोधनका लागि एउटा स्थायी विन्डो बनाऔँ र त्यसमा पर्याप्त रकम भरौँ। उच्च हिमालमा अनुगमन र पूर्वसूचनाका लागि ऋण होइन, अनुदान मात्र दिइओस्। र, हाम्रा नदी किनारमा हुने जलविद्युत्‌देखि सीमावर्ती सहरहरूसम्मका प्रत्येक लगानीलाई 'स्रोतदेखि समुद्रसम्म' जोखिम-संवेदनशील बनाइओस्,' उहाँले भन्नुभयो । 

चौथोमा हिमाली समुदायको हरित भविष्यमा लगानी गर्ने प्रस्ताव छ । वन र जलाधार संरक्षण गर्ने हिमाली समुदायका लागि स्वच्छ ऊर्जा, दिगो कृषि, जडीबुटी र जिम्मेवार पर्यटनमार्फत समृद्धिको बाटो खोल्ने तथा हिमाली उत्पादनहरूलाई भन्साररहित बजार पहुँच दिलाउने प्रस्ताव मन्त्री श्रेष्ठले राख्नुभएको छ । नेपालका तर्फबाट मन्त्री श्रेष्ठले राखेको प्रस्तावलाई ५३ देशका प्रतिनिधिले समर्थन गरेका छन् ।
 
क्षेत्रीय सम्वादमा मन्त्री श्रेष्ठले जलवायु परिवर्तनमा नेपालको योगदान ०.१ प्रतिशतभन्दा पनि कम भए तापनि यसको प्रत्यक्ष मार नेपालले खेप्नुपरेको उल्लेख गर्नुभयो । मन्त्री श्रेष्ठले भन्नुभयो, 'हाम्रा हिमालहरूमा जे घट्छ, त्यो हिमालमै सीमित रहँदैन । हाम्रा नदीहरू समुद्रसम्म पुग्छन्, त्यसैले हिमाली, टापु र तटीय देशहरूको सुरक्षा आपसमा जोडिएको छ ।' मन्त्री श्रेष्ठले हिमालले आफ्नो कुरा भनिसकेकाले अब सहकार्य र ठोस कार्य हुनुपर्नेमा जोड दिनुभयो । संवादमा एसिया-प्रशान्त क्षेत्रका विभिन्न देशका मन्त्रीहरू, संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिहरू, वैज्ञानिकहरू तथा कूटनीतिज्ञहरूको उपस्थिति रहेको थियो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup