गोरखा । शिक्षा, रोजगारी र राम्रो भविष्यको खोजीमा गाउँ छोड्ने युवाको संख्या बढिरहेका बेला गोरखाको बारपाक सुलिकोट गाउँपालिका–६, ताकुकोटका जितबहादुर नेपाली भने दुई दशकभन्दा लामो समयदेखि आफ्नै गाउँमा बसेर सामाजिक सेवा, राजनीति र स्थानीय विकासमा सक्रिय छन्।
आर्थिक अभावका कारण पढाइ खर्च जुटाउन आफैं भारी बोकेर काम गर्दै २०६१ सालमा एसएलसी उत्तीर्ण गरेका नेपालीका धेरै साथी त्यसपछि रोजगारी र अवसरको खोजीमा शहर तथा विदेशतिर लागे। तर उनले भने गाउँमै बसेर समाजका लागि केही गर्ने निर्णय गरे।
त्यतिबेला देश सशस्त्र द्वन्द्वमा थियो। गाउँमा आर्थिक तथा सामाजिक विभेद रहेको र सामाजिक विषयमा अगुवाइ गर्ने व्यक्तिको आवश्यकता महसुस भएपछि उनी तत्कालीन नेकपा (माओवादी) मा आबद्ध भए। यहीँबाट उनको राजनीतिक तथा सामाजिक यात्रा सुरु भयो।
अभाव र पारिवारिक पीडाबीच निरन्तर यात्रा
जितबहादुर आर्थिक रूपमा विपन्न दलित परिवारमा जन्मिएका हुन्। बाल्यकालदेखि नै अभाव भोगेका उनले पढाइ अघि बढाउन निक्कै परिश्रम गर्नुपरेको थियो। उनको पारिवारिक जीवनमा पनि लगातार दुःख आइरह्यो। २०५५ सालमा २२ वर्षको उमेरमै जेठी दिदीको निधन भयो। त्यसपछि २०६० सालमा बुवा, २०७३ सालमा जेठो दाजु र २०७७ सालमा आमालाई गुमाउनुपर्यो।यस्ता व्यक्तिगत क्षतिका बाबजुद उनी गाउँ र समाजप्रतिको आफ्नो भूमिकाबाट पछि हटेनन्।
हाल बारपाक सुलिकोट गाउँपालिकाको राजनीतिक तथा जनप्रतिनिधिको जिम्मेवारीमा रहेका नेपालीको सक्रियता भने पार्टी गतिविधिमा मात्र सीमित छैन। गाउँमा बिरामी पर्दा, पहिरो जाँदा, बाटो बिग्रिँदा, उपभोक्ता समिति गठन गर्नुपर्दा वा विकास आयोजनाको अनुगमन गर्नुपर्दा स्थानीयसँग समन्वय गर्ने व्यक्तिका रूपमा उनी सक्रिय रहेका छन्।
दलित बस्तीमा गुठीदेखि सामाजिक अभियानसम्म
ताकुकोटको दलित बस्तीमा समुदायलाई संगठित गर्न उनले सामुदायिक गुठी सञ्चालनमा पहल गरे। मासिक सानो बचतबाट आपतकालीन सहयोग गर्ने व्यवस्था बनाउनुका साथै सामुदायिक प्रयोजनका सामग्रीसमेत व्यवस्थापन गरिएको थियो।
त्यसैगरी सामाजिक कार्यक्रममा मदिराको प्रयोग निरुत्साहित गर्ने अभियान चलाए। लामो समयदेखि चल्दै आएको परम्परा परिवर्तन गर्ने क्रममा विरोधसमेत सामना गर्नुपरे पनि अहिले समुदायका धेरै कार्यक्रम मदिरामुक्त रूपमा सञ्चालन हुने गरेको छ।
भूकम्पपछि पीडितलाई सरकारी सेवा दिलाउन समन्वय
स्थानीय तह स्थापना हुनुअघि गाविसकालमै उनी सामाजिक गतिविधिमा सक्रिय थिए। सर्वदलीय बैठकमा सहभागी हुँदै ताकुकोटका सबै बस्तीमा समान रूपमा विकास, पूर्वाधार र सेवा–सुविधा पुग्नुपर्ने विषय उठाउँदै आएका थिए।
२०७२ सालको भूकम्पपछि ताकुकोटका पीडितले आवास पुनर्निर्माण अनुदान तथा अन्य सरकारी सेवा समयमै प्राप्त गर्न सम्बन्धित निकायसँग समन्वय गर्न उनले भूमिका खेलेको स्थानीयको भनाइ छ।
अहिले पनि वडा नम्बर ६ का विभिन्न टोलमा पुगेर स्थानीय समस्या बुझ्ने, गाउँपालिकासँग समन्वय गर्ने र विकास आयोजनाको अनुगमन गर्ने उनको नियमित गतिविधि बनेको छ। मसार, उल्टे, भालुस्वारा, डाँडागाउँ, केयुरीपानी, मोहोरिया, कोटथोक, मेलबोट, माझगाउँ, ढापे, भालेढुंगा, डाँडाथोक, पोखरी, गैरा, चाहापानी, पाल्खु, बाहाकोट र मैलुङलगायत बस्तीमा उनी पुग्ने गरेका छन् ।
विकास बढ्यो, गाउँमा मानिस घटे
जितबहादुरको मुख्य चिन्ता भने गाउँबाट भइरहेको जनसंख्या पलायन हो। उनका अनुसार केही वर्षअघिको तुलनामा अहिले गाउँमा सडक, विद्युत्, स्वास्थ्य, शिक्षा तथा अन्य भौतिक पूर्वाधारको विस्तार भएको छ। कुनै समय सदरमुकाम पुग्न पैदल हिँड्नुपर्ने अवस्था थियो भने अहिले घरसम्म मोटरबाटो पुगेको छ। गाउँमा रोजगारीका अवसरसमेत पहिलेभन्दा बढेका छन्।
तर विकासका पूर्वाधार थपिँदै जाँदा गाउँमा बस्ने मानिसको संख्या घट्दै गएको छ। खेतबारी बाँझिँदै गएका छन् र विद्यालयमा विद्यार्थी कम हुँदै गएको उनको अनुभव छ। उनको प्रश्न छ, ‘अब हामीजस्ता युवाले गाउँमै बसेर केही नगर्ने हो भने गाउँको भविष्य कसले बनाउने?’
त्यसैले उनी गाउँमै उत्पादन, कृषि, सामाजिक एकता र स्थानीय विकासलाई प्राथमिकता दिनुपर्ने बताउँछन्। उनका लागि पैसा कमाउनु व्यक्तिगत आवश्यकता भए पनि सामाजिक तथा राजनीतिक सेवा समाजप्रतिको जिम्मेवारी हो।
‘हिजोको गाउँ र आजको गाउँ आकाश–जमिन फरक छ’
नेपालीका अनुसार २०६४/६५ सालको गाउँ र २०८३ सालको गाउँबीच ठूलो परिवर्तन आएको छ। भौतिक पूर्वाधार, रोजगारी, सीपमूलक अवसर, सामाजिक चेतना र आर्थिक अवस्थामा समेत सुधार आएको उनको अनुभव छ।
तर गाउँको सामाजिक जीवनमा आउने साना–ठूला विवाद समाधान गर्नु अझै चुनौतीपूर्ण रहेको उनी बताउँछन्। खेतमा पानी लगाउने, बाख्राले मकै खाने वा अन्य सामान्य विषयसमेत विवादको कारण बन्न सक्ने भएकाले स्थानीय नेतृत्वले सबै पक्षबीच संवाद र समन्वय गर्नुपर्ने उनको अनुभव छ।
जितबहादुरको यात्रा यस अर्थमा फरक छ कि उनले गाउँबाट बाहिरिने अवसरलाई मात्र भविष्यको बाटो मानेनन्। अभाव, पारिवारिक क्षति र बदलिँदो सामाजिक परिवेशबीच पनि उनले आफ्नै ठाउँमा बसेर काम गर्ने बाटो रोजे।
आज गाउँमा पूर्वाधार थपिएका छन्, तर गाउँमा बस्ने मानिस घटिरहेका छन्। यही विरोधाभासबीच उनको दुई दशकभन्दा लामो सक्रियता एउटा प्रश्नसँग जोडिएको छ—गाउँको विकासका लागि सडक र संरचना मात्र पर्याप्त छन् कि त्यसलाई अघि बढाउने युवा पनि गाउँमै चाहिन्छ?
प्रतिक्रिया दिनुहोस् (Comments)
तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।
लगइन गर्नुहोस्