काठमाडौं । विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीमार्फत चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामै १४ अर्ब ३१ करोड रुपैयाँ बाहिरिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार गत आवको सोही अवधिको तुलनामा यो रकम ६५ करोड रुपैयाँले कम हो।समीक्षा अवधिमा नेपालको कुल भ्रमण खर्च २.८ प्रतिशतले घटेर २१ अर्ब ७० करोड रुपैयाँमा झरे पनि त्यसको ठूलो हिस्सा अध्ययनका लागि विदेशिएको रकमले ओगटेको छ।
यता, विदेशी पर्यटकबाट नेपालले प्राप्त गर्ने भ्रमण आय भने १२.७ प्रतिशतले बढेर ५ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो आय ४ अर्ब ७७ करोड रुपैयाँ थियो। भ्रमण खर्च घट्नु र भ्रमण आय बढ्नुका कारण नेपालको खुद सेवा घाटा पनि केही सुधारिएको छ। समीक्षा अवधिमा खुद सेवा घाटा १३ अर्ब ३९ करोड रुपैयाँ रहेको छ, जुन गत वर्षको तुलनामा १ अर्ब ६७ करोड रुपैयाँ कम हो।तर, विदेश अध्ययनका लागि मात्रै मासिक १४ अर्बभन्दा बढी रकम बाहिरिनुले नेपालको सेवा खातामा शैक्षिक प्रयोजनको खर्च अझै ठूलो दबाबका रूपमा रहेको देखाएको छ।
प्रतिक्रिया दिनुहोस् (Comments)
तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।
लगइन गर्नुहोस्