लोड हुँदै...
लोड हुँदै...
stc
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

जापानी हरित प्रविधि नेपालमा भित्रिँदै, एक अर्बभन्दा बढी लगानीको घोषणा

जापानी हरित प्रविधि नेपालमा भित्रिँदै, एक अर्बभन्दा बढी लगानीको घोषणा

जापानी कम्पनीहरूले नेपालमा एक अर्ब पाँच करोड रुपैयाँभन्दा बढीको सम्भावित लगानी गर्ने योजना सार्वजनिक गरेका छन्।

न्युज बिहानी
न्युज बिहानी
Shares
जापानी हरित प्रविधि नेपालमा भित्रिँदै, एक अर्बभन्दा बढी लगानीको घोषणा

काठमाडौं । नेपालमा दिगो कृषि, वातावरण संरक्षण, जल शुद्धीकरण, ऊर्जा बचत तथा फोहोर व्यवस्थापनका क्षेत्रमा जापानी अत्याधुनिक हरित प्रविधि भित्रिने भएको छ।

काठमाडौंमा आइतबार आयोजित ‘जापान टु नेपाल: इनोभेट, इन्टिग्रेट एण्ड इन्सपायर’ कार्यक्रममा जापानी कम्पनीहरूले नेपालमा एक अर्ब पाँच करोड रुपैयाँभन्दा बढीको सम्भावित लगानी गर्ने योजना सार्वजनिक गरेका छन्।

नेपालको सन्दीपानी ग्रुप अफ कम्पनी र नेपाल युनिभर्सल ट्रेडिङको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा कृषि आधुनिकीकरण, वातावरण संरक्षण र ऊर्जा दक्षतामा जापानी प्रविधिको प्रयोगमार्फत नेपालमा नयाँ सम्भावनाको ढोका खुल्ने विश्वास व्यक्त गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि तथा *नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)*का उपाध्यक्ष दिलसुन्दर श्रेष्ठले नेपाल–जापानबीच प्रविधिमा आधारित सहकार्य विस्तारले दिगो आर्थिक विकास, कृषि आधुनिकीकरण र वातावरण संरक्षणमा नयाँ अध्याय सुरु गर्ने बताए। उनले निजी क्षेत्रबीचको सहकार्यलाई लगानी, रोजगारी सिर्जना र नवप्रवर्तनसँग जोड्नुपर्नेमा जोड दिए।

सन्दीपानी ग्रुपका प्रमुख कार्यकारी अधिकृत नरेशचन्द्र ओझाले नेपाल–जापान सहकार्य केवल व्यापारिक सम्बन्धमा सीमित नरही भविष्य निर्माण गर्ने साझा अभियान भएको बताए।उनका अनुसार नवप्रवर्तन, साझेदारी र दिगो विकासलाई केन्द्रमा राखेर अघि बढाइने यस्ता परियोजनाले नेपालमा नयाँ व्यवसाय, रोजगारी तथा दीर्घकालीन आर्थिक अवसर सिर्जना गर्नेछन्।

वातावरणमैत्री पाँच प्रविधिको प्रस्तुति

कार्यक्रममा सहभागी जापानी कम्पनीहरूले नेपालका लागि विभिन्न हरित तथा वातावरणमैत्री प्रविधिको प्रस्तुति दिएका थिए। ट्रिम कम्पनी लिमिटेड (जापान) का अध्यक्ष त्सुबोई इवाओले पुनःप्रशोधित सिसाबाट उत्पादन हुने ‘सुपर सोल’ प्रविधि प्रस्तुत गरे। प्रयोग भइसकेका सिसाबाट बन्ने हलुका र छिद्रयुक्त यो सामग्री कृषि, बागवानी, जल शुद्धीकरण, निर्माण तथा हरित पूर्वाधारमा उपयोगी हुने र फोहोरलाई स्रोतमा रूपान्तरण गर्न सकिने उनले बताए।


त्यसैगरी डाएएई कम्पनी लिमिटेडका अध्यक्ष मोरिता मिचिओले ‘अक्सिजन फिल्टर’ प्रविधिबारे जानकारी दिँदै पानीमा उच्च मात्रामा अक्सिजन घोल्ने प्रणालीले नदी, ताल, मत्स्यपालन, कृषि तथा फोहोर पानीको प्राकृतिक शुद्धीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए। उनका अनुसार यसले जैविक सूक्ष्मजीवको सक्रियता बढाएर दूषित पानी सफा गर्न सहयोग पुर्‍याउँछ।

कोद्यु जापान कम्पनी लिमिटेडका अध्यक्ष कोशाकाइ तोशियाकीले ऊर्जा बचत गर्ने ‘सुपर एलईडी’ प्रविधिको प्रस्तुति गर्दै नेपाली बजारमा हाल उपलब्ध सामान्य एलईडीकै मूल्यमा जापानी गुणस्तरका एलईडी उपलब्ध गराउने तथा आगामी तीन वर्षभित्र देशभर विस्तार गर्ने लक्ष्य रहेको जानकारी दिए। यसबाट ऊर्जा खपत उल्लेखनीय रूपमा घट्ने विश्वास व्यक्त गरिएको छ।

कम्पनीका प्रमुख प्राविधिक अधिकृत हाजिमे मासाकीले ‘मिजुकी हाई वाटर’ प्रणालीमार्फत सुरक्षित तथा उच्चस्तरीय पानी प्रशोधन प्रविधिबारे जानकारी दिए। उनका अनुसार रसायन र अल्कोहलरहित यो प्रविधि कृषि, पशुपन्छीमा लाग्ने ब्याक्टेरिया, फंगस तथा भाइरस नियन्त्रण गर्न प्रभावकारी रहेको छ। यसलाई विषादीको विकल्पका रूपमा समेत प्रयोग गर्न सकिने, कुखुरामा लाग्ने रोगको उपचार, घाउ सफा गर्न तथा मुखभित्रका घाउको उपचारमा समेत उपयोग हुने उनले बताए।

 जापानमा ८० प्रतिशतभन्दा बढी दन्त चिकित्सकले उपचारका क्रममा यही प्रविधि प्रयोग गर्ने दाबी पनि उनले गरे। यस्तै, मितोमी कम्पनी लिमिटेडका अध्यक्ष तानाका योनेकाजुले ‘सस्टेनेबल ट्वाइलेट’ प्रणाली प्रस्तुत गर्दै न्यून पानीको प्रयोग, सरसफाइ सुधार र वातावरणमैत्री फोहोर व्यवस्थापनमार्फत दिगो सरसफाइ प्रवर्द्धन गर्न सकिने बताए।

एक अर्ब पाँच करोड रुपैयाँभन्दा बढी लगानी अवधारणा
सन्दीपानी ग्रुपका सीईओ नरेशचन्द्र ओझाका अनुसार कार्यक्रममा प्रस्तुत परियोजनाअन्तर्गत *‘सुपर सोल’मा करिब ५० करोड रुपैयाँ, *‘सुपर एलईडी’*मा २५ करोड रुपैयाँ, *‘अक्सिजन फिल्टर’*मा १५ करोड रुपैयाँ, *‘सस्टेनेबल ट्वाइलेट’*मा १० करोड रुपैयाँ तथा *‘मिजुकी हाई वाटर’**मा ५ करोड रुपैयाँ गरी कुल एक अर्ब पाँच करोड रुपैयाँभन्दा बढीको सम्भावित लगानी अवधारणा सार्वजनिक गरिएको हो।

कार्यक्रममा सहभागी सरोकारवालाले यी हरित प्रविधिहरू सफलतापूर्वक कार्यान्वयन हुन सके नेपालमा कृषि उत्पादन वृद्धि, जलस्रोत संरक्षण, ऊर्जा बचत, फोहोर व्यवस्थापन, कार्बन उत्सर्जन न्यूनीकरण तथा दिगो विकास लक्ष्य हासिल गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Made with by Yubraj Pandeya