काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा अतिरिक्त महानिरीक्षक (एआईजी) को एक पद रिक्त भएसँगै संगठनभित्र बढुवाको प्रतिस्पर्धा सुरु भएको छ। रिक्त पदका लागि डीआईजी सुरेशकुमार श्रेष्ठ, दीपेन्द्र शाह र पुरुषोत्तम थापाबीच प्रतिस्पर्धा हुने देखिएको छ। तीनै जना सशस्त्र प्रहरी बलको पहिलो ब्याचका अधिकृत हुन्। तर सेवा प्रवेश, बढुवा वरीयता, कमाण्ड अनुभव, अन्तर्राष्ट्रिय जिम्मेवारी र शैक्षिक योग्यतालाई आधार मान्दा सुरेश श्रेष्ठको व्यावसायिक पृष्ठभूमि अहिले चर्चाको केन्द्रमा छ।
सशस्त्र प्रहरी बल स्थापनापछि खुला प्रतिस्पर्धाबाट प्रहरी निरीक्षकमा भर्ना भएका श्रेष्ठ संगठनका पहिलो ब्याचका अधिकृत हुन्। १२ नोभेम्बर २००२ मा सेवा प्रवेश गरेका श्रेष्ठले स्थापनाकालदेखि नै संगठनको विभिन्न तहमा रहेर जिम्मेवारी निर्वाह गर्दै आएका छन्।२०७९ माघमा एसएसपीबाट डीआईजीमा बढुवा हुँदा श्रेष्ठ आफ्नै ब्याचका अञ्जनीकुमार पोखरेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापालाई पछि पार्दै पहिलो वरीयतामा बढुवा भएका थिए। अहिले एआईजीको एक पद रिक्त हुँदा पनि उनी वरीयतामा अगाडि रहेका दाबेदारका रूपमा देखिएका छन्।
पहिलो ब्याचदेखि नेतृत्व तहसम्मको यात्रा
इलाममा जन्मिएका श्रेष्ठको व्यावसायिक यात्रा सशस्त्र प्रहरी बलको स्थापनाकालीन समयदेखि सुरु भएको हो। संगठनको प्रारम्भिक संरचना निर्माण हुँदै गर्दा सेवा प्रवेश गरेका उनले त्यसयता विभिन्न तहका जिम्मेवारी सम्हाल्ने अवसर पाएका छन्। संगठनको विकास, सुरक्षा चुनौती र कार्यक्षेत्र विस्तारका विभिन्न चरणलाई नजिकबाट अनुभव गरेका अधिकृतमध्ये श्रेष्ठ पनि एक हुन्। लामो समयको सेवाअनुभवसँगै बढुवामा पहिलो वरीयता कायम गर्नुलाई उनको करियरको महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
सीमा सुरक्षा र बाहिनी कमाण्डको अनुभव
सशस्त्र प्रहरी बलको मुख्य जिम्मेवारीमध्ये सीमा सुरक्षा सबैभन्दा संवेदनशील क्षेत्र हो। श्रेष्ठ हाल सीमा सुरक्षा विभागको उपप्रमुखका रूपमा कार्यरत छन्।यसअघि उनले नं. ९ पशुपतिनाथ बाहिनी र नं. ७ बाहिनीको कमाण्डरका रूपमा जिम्मेवारी सम्हालिसकेका छन्। त्यस्तै, हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालयको समादेशक भएर पनि काम गरेका छन्।
बाहिनी कमाण्ड गर्दा मातहतका गण, गुल्म तथा अन्य सुरक्षा इकाइको परिचालन, जनशक्ति व्यवस्थापन, सुरक्षा रणनीति र कार्यसम्पादनको जिम्मेवारी निर्वाह गर्नुपर्छ। त्यसैले बाहिनी नेतृत्वको अनुभवलाई एआईजी तहको जिम्मेवारीका लागि महत्त्वपूर्ण व्यावसायिक पृष्ठभूमिका रूपमा लिन सकिन्छ।सीमा सुरक्षा विभागमा हालको जिम्मेवारीले पनि उनलाई संगठनको प्रमुख कार्यक्षेत्रमध्ये एकसँग प्रत्यक्ष रूपमा जोडेको छ।
राष्ट्रसंघीय शान्ति मिसनमा नेतृत्व र अन्तर्राष्ट्रिय अनुभव
श्रेष्ठको व्यावसायिक यात्राको अर्को महत्त्वपूर्ण पक्ष संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा प्राप्त अनुभव हो। उनले दक्षिण सुडानस्थित संयुक्त राष्ट्रसंघीय मिसन (UNMISS) मा फिल्ड अफिस प्रहरी कमाण्डर र फर्म्ड पुलिस युनिट (FPU) कमाण्डरका रूपमा काम गरेका छन्।त्यस्तै, इराकस्थित संयुक्त राष्ट्रसंघीय मिसन (UNAMI) मा प्रहरी सल्लाहकार तथा लाइबेरियास्थित संयुक्त राष्ट्रसंघीय मिसन (UNMIL) मा प्रहरी अनुगमनकर्ताका रूपमा समेत जिम्मेवारी निर्वाह गरेका छन्।
यी जिम्मेवारीले उनलाई अन्तर्राष्ट्रिय सुरक्षा अभ्यास, बहुराष्ट्रिय सुरक्षा निकायसँगको समन्वय, शान्ति स्थापनासम्बन्धी कार्य र प्रहरी परिचालनको अनुभव प्रदान गरेको छ। अन्तर्राष्ट्रिय मिसनमा प्राप्त अनुभव संगठनको व्यावसायिक क्षमता अभिवृद्धि, अन्तर्राष्ट्रिय सहकार्य र सुरक्षा रणनीतिको विकासमा उपयोगी हुन सक्छ।
एमफिलसहित उच्च शैक्षिक योग्यता
श्रेष्ठको शैक्षिक पृष्ठभूमि पनि उल्लेखनीय छ। उनले त्रिभुवन विश्वविद्यालयबाट मानव संसाधन विकासमा एमफिल (MPhil) गरेका छन्।त्यसैगरी सुरक्षा, शान्ति तथा विकास, राजनीतिशास्त्र र मानव संसाधन व्यवस्थापनमा स्नातकोत्तर उपाधि हासिल गरेका छन्।सुरक्षा निकायको नेतृत्व केवल कमाण्ड र आदेशमा सीमित हुँदैन। नीति निर्माण, जनशक्ति व्यवस्थापन, संस्थागत सुधार, रणनीतिक योजना र प्रशासनिक निर्णय क्षमता पनि उत्तिकै आवश्यक हुन्छ। श्रेष्ठको शैक्षिक पृष्ठभूमि यी विषयसँग सम्बन्धित छ।व्यावसायिक कार्यकुशलताका लागि उनले सशस्त्र प्रहरी दिवसको रजत जयन्तीका अवसरमा 'आईजी एपीएफ कमेन्डेशन अवार्ड' समेत प्राप्त गरेका थिए।
बढुवामा वरिष्ठता मात्रै होइन, कार्यसम्पादनको पनि परीक्षा
सशस्त्र प्रहरी नियमावलीअनुसार बढुवाका लागि कार्यसम्पादन मूल्यांकन, ज्येष्ठता, भौगोलिक क्षेत्रमा काम गरेको अनुभव, शैक्षिक योग्यता, तालिम, चुनौतीपूर्ण तथा विशेष जिम्मेवारी र बढुवा समितिले प्रदान गर्ने अंकसमेत महत्त्वपूर्ण हुन्छन्।नियमावलीको व्यवस्था अनुसार कार्यसम्पादन मूल्यांकनका लागि ४०, ज्येष्ठताका लागि २०, भौगोलिक क्षेत्रमा काम गरेबापत ८, शैक्षिक योग्यताका लागि ७, तालिमका लागि १३, चुनौतीपूर्ण तथा विशेष जिम्मेवारीका लागि ५, विभूषणका लागि २ र बढुवा समितिले प्रदान गर्ने अंकका लागि ५ अंकको व्यवस्था छ।
यस आधारमा हेर्दा श्रेष्ठको पहिलो वरीयता, बाहिनी कमाण्ड, सीमा सुरक्षा विभागको जिम्मेवारी, अन्तर्राष्ट्रिय मिसन र शैक्षिक योग्यताको मूल्यांकन महत्त्वपूर्ण हुनेछ। तर अन्तिम निर्णय गर्दा सबै प्रतिस्पर्धीको कार्यसम्पादन अभिलेख र विभागीय अवस्थासमेत समान मापदण्डमा परीक्षण हुनुपर्छ।
संगठनको हितमा पारदर्शी निर्णय आवश्यक
सशस्त्र प्रहरी बल अहिले सीमा सुरक्षा, विपद् व्यवस्थापन, आन्तरिक सुरक्षा, दंगा नियन्त्रण र राष्ट्रिय संकटका बेला परिचालित हुने महत्त्वपूर्ण सुरक्षा निकाय हो। यस्तो संगठनको एआईजी तहमा पुग्ने अधिकृतको अनुभव र नेतृत्व क्षमताले समग्र संगठनको कार्यसम्पादनमा प्रभाव पार्छ।
सुरेश श्रेष्ठको लामो सेवायात्रा, पहिलो ब्याचको अधिकृत हुनु, डीआईजी बढुवामा पहिलो वरीयता, विभिन्न बाहिनीको कमाण्ड, सीमा सुरक्षा विभागको जिम्मेवारी, राष्ट्रसंघीय शान्ति मिसनमा प्राप्त अनुभव र उच्च शैक्षिक योग्यताले उनको दाबेदारीलाई महत्त्वपूर्ण आधार दिएका छन्।तर कार्की आयोगको सिफारिस र त्यसपछिको विभागीय प्रक्रियाको अवस्था पनि उत्तिकै महत्त्वपूर्ण छ। यी सबै पक्षको निष्पक्ष परीक्षणपछि मात्रै उनको उम्मेदवारीको समग्र मूल्यांकन हुन सक्छ।
एआईजी बढुवा कुनै व्यक्ति विशेषलाई पुरस्कृत गर्ने विषय मात्र होइन, संगठनको भावी नेतृत्व र व्यावसायिक विश्वसनीयतासँग जोडिएको निर्णय हो। त्यसैले राजनीतिक पहुँच, व्यक्तिगत सम्बन्ध वा दबाबभन्दा माथि उठेर योग्यता, कार्यसम्पादन, वरिष्ठता, नेतृत्व अनुभव र संस्थागत हितलाई प्राथमिकता दिनु आवश्यक छ।सुरेश श्रेष्ठको व्यावसायिक पृष्ठभूमिले उनलाई यस प्रतिस्पर्धाका महत्त्वपूर्ण दाबेदारका रूपमा प्रस्तुत गरेको छ। अब बढुवा समितिले उनको उपलब्धि र विवाद दुवै पक्षलाई तथ्यका आधारमा परीक्षण गर्दै निष्पक्ष निर्णय गर्छ कि गर्दैन भन्ने चासो संगठनभित्र र बाहिर बढेको छ।
प्रतिक्रिया दिनुहोस् (Comments)
तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।
लगइन गर्नुहोस्