काभ्रेपलाञ्चोक, ९ असोजः बिहीबारदेखिको अविरल वर्षाका कारण रोशी खोलाको जलसतहले खतराको तह पार गरेको छ । यद्यपि, उक्त खोलाको जलसहत शुक्रबार दिनभरमा घटबढ भएको नेपाल मौसम विज्ञान विभागअन्तर्गतको पनौतीस्थित बाढी सूचना केन्द्रले जनाएको छ ।
वर्षासँगै पनौतीस्थित रोशी खोलामा आएको बाढीका कारण जलसतहमा फेरबदल हुने क्रममा शुक्रबार साँझ ५ः०० बजे जलसतहले खतराको तह पार गरेको केन्द्रले जनाएको हो । विभागका विभागका डाइड्रोलोजिष्ट सौर्हाद जोशीका अनुसार आज अपराह्न ५ः५५ बजेसम्म पनौतीस्थित रोशी खोलाको जलसतह ४.५२ मिटर रहेको छ । रोशी खोलामा पानीको सतह निरन्तर उकालो लागेपछि तल्लो तटीय क्षेत्र तथा आसपासका बस्तीमा कटान र बाढीको जोखिम बढेको जनाइएको छ ।
विभागले रोशी खोलालाई लक्षित गर्दै पनौतीको भूमिडाँडा नजिक बाढी मापन केन्द्र, पनौतीको त्रिवेणी घाट नजिक बाढी मापन केन्द्र स्थापना गरेको छ । पनौतीस्थित रोशी खोलामा जलसतहले खतराको तह पार गरेपछि पनौती गोरखनाथमा स्थानीयवासीले देख्ने गरी खतराको बत्तीसमेत बल्ने गर्दछ । विभागका अनुसार काभ्रेपलाञ्चोक, काठमाडौँलगायत बागमती प्रदेशभित्र भोलि शनिबार साँझसम्म वर्षा हुने अवस्था रहेको जनाइएको छ ।
रोशी खोलामा आज जलसतहले खतराको तह पार गरेपछि उक्त खोला आसपासका मानिस टिकटक बनाउने, रिल्स तथा फोटो, भिडियोको लागि खोला छेउमा गएका फोटो तथा भिडियो सार्वजनिक भएकाले खोला छेउमा नजान प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले सार्वजनिक अपिल गर्नुभएको छ ।
यसैबीच, रोशी खोलाको बाढीले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको दुई स्थानका अस्थायी डाइभर्सन बगाएको छ । बाढीले मुख्यगरी नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा र रोशी गाउँपालिका–७ घुमाउनेमा निर्माण गरिएको डाइभर्सन बगाएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । यसअघि दुई सालअघिको बाढीले सडक बगाएपछि उक्त स्थानमा डाइभर्सन निर्माण गरी सवारी सञ्चालनको व्यवस्था मिलाइएको थियो । बिहीबार रातिदेखि परेको वर्षासँगै रोशी खोलामा आएको बाढीले अधिकांश स्थानको डाइभर्सन बगाएको कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बताउनुभयो ।
उक्त राजमार्गको विभिन्न स्थानमा पहिरो तथा डाइभर्सन बगाएपछि उक्त खण्डमा यातायात सञ्चालन प्रभावित भएको छ । बाढी र पहिरोका कारण राजमार्गको अवस्था जोखिमपूर्ण रहेकाले शुक्रबार बिहानदेखि नै राजमार्गमा यातायात अवरुद्ध भएको छ ।
यसैबीच जल तथा मौसम विभागको प्रक्षेपणलाई मध्यनजर गर्दै बिहीबारदेखि रातको समयमा बिपी राजमार्गअन्तर्गत काभे्रपलाञ्चोक खडकखण्डलाई बन्द गराइएको छ । जिल्ला प्रशासन कार्यालय धुलिखेलले बाढीपहिरोको अवस्था हेरी दिनको समयमा पनि बन्द गर्नसक्ने जनाएको छ भने हाललाई आइतबारसम्म रातको समयमा साँझ ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सवारी आवागमनमा रोक लगाएको हो ।
प्रतिक्रिया दिनुहोस् (Comments)
तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।
लगइन गर्नुहोस्