काठमाडौं । दोलखाको कालिञ्चोक केबलकार सञ्चालन गर्दै आएका व्यवसायी बालकृष्ण शिवाकोटीले धार्मिक पर्यटन प्रवर्द्धनका लागि थप दुई ठूला केबलकार आयोजना अघि बढाएका छन्। उनको नेतृत्वमा सिन्धुपाल्चोक–रसुवा क्षेत्रमा सूर्यकुण्ड–गोसाइँकुण्ड केबलकार तथा अर्घाखाँचीमा सुपा देउराली केबलकार निर्माणको प्रक्रिया सुरु गरिएको हो।
प्रस्तावित दुवै आयोजनामा ११ अर्ब ३१ करोड ८ लाख ४० हजार रुपैयाँ लगानी हुने अनुमान गरिएको छ। तीमध्ये सूर्यकुण्ड–गोसाइँकुण्ड केबलकार आयोजना सबैभन्दा ठूलो रहेको छ, जसको अनुमानित लागत १० अर्ब १ करोड ८ लाख ४० हजार रुपैयाँ रहेको छ। उक्त आयोजनाले वार्षिक करिब ४ लाख यात्रुलाई सेवा दिने लक्ष्य राखेको छ।
यस्तै, अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ मा निर्माण प्रस्ताव गरिएको सुपा देउराली केबलकार आयोजनाको अनुमानित लागत १ अर्ब ३० करोड रुपैयाँ रहेको छ। यस आयोजनाबाट वार्षिक करिब ५ लाख यात्रुले सेवा लिन सक्ने लक्ष्य निर्धारण गरिएको छ।
व्यवसायी शिवाकोटीका अनुसार दुवै आयोजनाको प्रारम्भिक प्रक्रिया सुरु भइसकेको छ। यद्यपि, इजाजतपत्रलगायत आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गर्न समय लाग्ने भएकाले निर्माण कार्य कहिलेदेखि सुरु हुन्छ भन्ने विषयमा अहिले नै निश्चित भइसकेको छैन।
कालिञ्चोकपछि गोसाइँकुण्ड र सुपा देउरालीमा पनि केबलकार निर्माण सम्पन्न भए धार्मिक पर्यटनको पहुँच विस्तार हुनुका साथै स्थानीय आर्थिक गतिविधि र पर्यटन पूर्वाधार विकासमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस् (Comments)
तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।
लगइन गर्नुहोस्